बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मधेस प्रदेशमा एमालेले शक्ति हत्याउँदा माओवादी खस्कियो

शुक्रबार, जेष्ठ १३ २०७९

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशमा पाँचौँ शक्तिको रूपमा सीमित भएको छ ।

 गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले मधेस प्रदेशमा आफ्नो पकड गुमाएको हो ।

सम्पन्न निर्वाचनम प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) ठूलो शक्ति बनेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेशको १९ स्थानीय तह जितेको माओवादी केन्द्रले यसपालि १० वटा स्थानीय तह गुमाएको छ ।

माओवादीले मधेस प्रदेशका आठ जिल्लामध्ये महोत्तरी र पर्सामा खातासमेत खोल्न सकेन । जबकि अघिल्लो निर्वाचनमा सो पार्टीले महोत्तरीको गौशाला, बर्दिबास, रामगोपालपुर नगरपालिका सहित साम्सी गाउँपालिका र पर्साको छिपहरमाई तथा ठोरी नगरपालिकाको प्रमुख–उपप्रमुख जितेको थियो ।

माओवादी केन्द्रले गत २०७४ मा प्रमुख र उपप्रमुख जितेको स्थानीय तहमध्ये दुईवटा पालिकामा मात्रै आफ्नो साख जोगाउन सकेको छ । विसं तत्कालीन चुनावमा मधेस प्रदेशका १३६ पालिकामध्ये १९ पालिकाको प्रमुख र उपप्रमुख दुवै पद माओवादी केन्द्रले जितेको थियो ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जितेकामध्ये सिरहाको मिर्चैया नगरपालिका र सर्लाहीको बागमती नगरपालिकामा मात्रै आफ्नो पुरानो साख जोगाउँदा बाँकी अन्य दलले खोसेका छन् । यसपालि ती १९ मध्ये दुई पालिकाको प्रमुख र उपप्रमुखमा मात्रै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले दुवै पद जितेर आफ्नो गढ बनाएको मधेस प्रदेशका स्थानीय तहमा यसपालि एमाले, कांग्रेस र जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । मधेस प्रदेशमा माओवादी केन्द्रबाट सबैभन्दा बढी सिट एमालेले खोसेको छ ।

यसअघि स्थानीय तह निर्वाचनमा १७ पालिकामध्ये धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, अर्नमा गाउँपालिका र औरही गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर माओवादी केन्द्रले सिरहामा आफ्नो गढ बनाएको थियो । तर पाँच वर्षपछि भएको स्थानीय निर्वाचनमा त्यो साखलाई कायम राख्न सकेन र एउटा मिर्चैया नगरपालिकाको प्रमुख–उपप्रमुखले मात्र निरन्तरता पाउन सकेका छन् ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको कर्जन्हा, धनगढीमाई र गोलबजार नगरपालिकामा एमालेले जितेको छ भने औरही र अर्नमा गाउँपालिका जनता समाजवादी पार्टी (जसपा)ले खोसेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा सप्तरीको एउटा पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख जित्न नसकेको सप्तरीमा भने माओवादी केन्द्रले यसपालिको चुनावमा सप्तरीको खडक नगरपालिकाको प्रमुख र छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष जितेको छ । अधिकांश स्थानीय तहहरूमा वडाध्यक्ष जितेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा धनुषाको सहिदनगर नगरपालिका र विदेह नगरपालिकाको प्रमुख–उपप्रमुख जितेको माओवादी केन्द्रले यस पालिकाको स्थानीय तह निर्वाचनमा ती दुवै स्थानीय तह गुमाएको छ । यी स्थानीय तहमध्ये सहिदनगर नगरपालिका जसपा र विदेह नगरपालिका नेकपा (एकीकृत समाजवादी)ले माओवादीबाट खोसेको छ । धनुषाको सबैला नगरपालिकामा प्रमुख र उपप्रमुख जितेर माओवादीले आफ्नो अस्तित्व जोगाएको छ ।

गत २०७४ को स्थानीय तह निर्वाचनमा सर्लाहीको बागमती नगरपालिका, बरहथवा नगरपालिका र चक्रघाटा गाउँपालिकामा जितेको माओवादी केन्द्रले बागमती नगरपालिकामा आफ्नो पुरानो साख जोगाउँदा बरहथवा र चक्रघट्टा गाउँपालिका गुमाएको छ । तर सर्लाहीको हरिवन नगरपालिका, बलरा गाउँपालिकामा माओवादीले जित हासिल गरेर सर्लाहीमा जितेको स्थानीय तहको सङ्ख्या चार पुर्याएको छ ।

मधेस प्रदेशको तीन उपमहानगरपालिकामध्ये दुईवटा उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेको बारामा पनि माओवादी कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा बाराको एउटा पनि स्थानीय तह जित्न नसकेकोे माओवादीले यसपालिको निर्वाचनमा भने बाराको सिमरा उपमहानगरपालिकाको प्रमुख जितेको छ ।

पाँचदलीय गठबन्धनको भागमा परेपछि सिमरा उपमहानगरपालिकाको प्रमुख माओवादीले जित्दा उपप्रमुख कांग्रेसले जितेको छ ।