ढाका, मंसिर २० । बंगलादेशको विद्युतीय वाणिज्य (ई–कमर्स)को व्यापारमा यस वर्षको सुरुवाती तीन त्रैमासिक अवधिमा सुधार आएको देखिएको छ । पछिल्लो समय सार्वजनिक भएको विवरणले उक्त क्षेत्रमा यस वर्षको सुरुवाती नौ महिनामा आकर्षक ६७ प्रतिशतको वृद्धिदर हासिल गरेको देखिएको हो । पछिल्लो समय डिजिटल प्रविधिहरुको विकासको क्रम तीव्र भएको कारण बंगलादेशको ईकर्समा उल्लेख्य सुधार आएको हो ।
सोमबार सार्वजनिक भएको नतिजाअनुसार ई–कमर्सको क्षेत्रमा बंगलादेशले अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धिदर हासिल गरेको हो । पछिल्लो समय बंगलादेशका युवाहरुको चासो पनि ई–कमर्सको क्षेत्रमा बढेको र इन्टरनेट प्रयोग गर्ने मानिसहरुको संख्या पनि अत्यधिक रहेको कारण यो क्षेत्रमा उल्लेख्य सुधार आएको हो । बंगलादेशमा ई–कमर्सबको लागि विशेषगरी डेबिट तथा क्रेडिट कार्डको प्रयोग हुने गरेको कारण उक्त कार्डहरुको प्रयोगको आधारमा ई–कमर्सको नतिजा निकाल्ने गरिएको छ ।
बंगलादेशका एक बैंक अधिकारीले यस वर्षको सुरुवानी नौ महिनाको अवधिमा बंगलादेशको ई–कमर्सको समग्र व्यापार पाँच करोड अमेरिकी डलरबराबरको रहेको जानकारी दिएका छन् । यो नतिजा अघिल्लो वर्षको यसै अवधिमा तीन करोड अमेरिकी डलरको रहेको थियो । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो समय बंगलादेशमा डेबिट कार्डको तुलनामा क्रेडिट कार्डको प्रयोग अत्यधिक हुने गरेको देखिएको छ । यस वर्षको अवधिमा बंगलादेशमा इन्टरनेटको प्रयोगकर्ताहरुको संख्यामा पनि उलेख्य वृद्धि भएको नतिजा सार्वजनिक भएको छ । बंगलादेशमा समग्र इन्टरनेट प्रयोगकर्ताहरुको संख्या छ करोड नाघेको छ । यो नतिजा बंगलादेशको लागि समग्र जनसंख्याको करिब एक तिहाइको नतिजा हो ।
पछिल्लो सर्वेक्षणले अझै दुई तिहाइ बंगलादेशी नागरिकहरु इन्टरनेटको पँहुचभन्दा टाढा रहेको देखिएको छ । यसले बंगलादेशको लागि इन्टरनेटको विषयमा अझै धेरै काम गर्न बाँकी रहेको देखिएको हो । यद्यपि पछिल्लो समय भने बंगलादेशका नागरिकहरुको इन्टरनेटप्रतिको चासो पनि उल्लेख्य रहेको र बजारको अवस्था पनि बलियो रहेको कारण बंगलादेश ई–कमर्सको क्षेत्रमा बलियो देखिएको हो । एजेन्सी