न्युयोर्क, मंसिर १५ । सामाजिक सञ्जाल कम्पनी फेसबुकको म्यासेन्जरमा आगामी दिनमा नयाँ सेवाहरु थप हुने भएका छन् । म्यासेन्जरमा लामो समयसम्म मानिसहरुले प्रयोग गर्न सकिने होस् भन्नका लागि कम्पनीले केही गेमहरु थप गर्ने निर्णय गरेको हो ।
कम्पनीले दिएको जानकारी अनुसार आगामी दिनमा मानिसहरुले म्यासेन्जरमा विश्वमा लोकप्रिय मानिएका प्याक–म्यान र स्पेस इनभेडर्सलगायतका गेमहरु थप गर्ने फेसबुकले बताएको छ । म्यासेन्जरको लागि ल्याउन लागिएको नयाँ सुविधाहरु अहिल पहिलो चरणमा विश्वका ३० मुलुकहरुमा सार्वजनिक गरिएको छ । जसमा १७ प्रकारका खेलहरु समावेश गरिएको छ । यो सेवाहरु आईओएस तथा एन्ड्रोइड दुवै भर्सनको लागि प्रयोग गर्न सकिने बताइएको छ ।
अहिले ल्याइएको योजनाअनुसार मानिसहरुले कुराकानी भइरहेको अवस्थामा गेममा गएर गेम खेल्न सक्ने र आफ्ना साथीहरुलाई पनि चुनौती दिन सक्ने बताइएको छ । सन् २०१४ मा फेसबुकले म्यासेजिङ प्रणालीको स्थापना गरेको थियो । सुरुवातमा यो एपले खासै प्रभाव जमाउन नसकेको भएता पनि पछि भने यो एप बजारमा लोकप्रिय बनेको थियो । जसका लागि फेसबुकले केही महत्वपूर्ण सुविधाहरु थप गरेको थियो ।
फेसबुक कम्पनीले अहिले तत्काल भिडियो हाल्न सक्ने र भुक्तानी दिन सक्ने व्यवस्था समेत गरेको छ । फेसबुक कम्पनीको म्यासेन्जर एपको प्रयोग गर्ने मानिसहरुको संख्या पनि एक अर्बको हाराहारीमा रहेको छ । यसले म्यासेन्जर एप विश्वको सर्वोत्कृष्ट तीन एपहरुमा अटाउन सफल रहेको छ ।
फेसबुक कम्पनीको लोकप्रियताको लागि म्यासेन्जर र वाट्सएप प्रमुख एपहरुको रुपमा रहेका छन् । म्यासेन्जर एप भने फेसबुकले २०१४ मा खरिद गरेको थियो । एजेन्सी