बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सही मेकअपबाट बढ्दो उमेरमा आउने चाउरीपन पनि कम गर्न सकिन्छ

मंगलबार, साउन ११ २०७३

जेठ २८, काठमाडौं। मेकअपले सौन्दर्य बढाउनुका साथै सही मेकअपबाट बढ्दो उमेरमा आउने चाउरीपन पनि कम गर्न सकिन्छ । जवान देखिन मेकअप गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ :
ओठको मेकअप : पातलो एवं सुख्खा ओठ बढ्दो उमेरको निशानी हो । सही ढंगमा ओठको मेकअप गरे यो समस्याबाट बच्न सकिन्छ । गाढा रंगको साटो हल्का रंगको लिपिस्टिक तथा लिपग्लस लगाउनुपर्छ । यसले ओठ मोटो देखिन्छ ।
मस्कारा : मस्कारा प्रयोग गरिसकेपछि परेला कर्ल गर्नुपर्छ । यसले आँखा ठूलो तथा राम्रो देखिन्छ । यङ लुक्सका लागि मस्काराको २–३ कोट प्रयोग गर्नुपर्छ ।
आइस्याडो : उमेरको सबैभन्दा बढी असर आँखामा देखिन्छ । आँखामा देखिएको चाउरीपन हटाउन गाढा, सिमरी आइस्याडो लगाउनुपर्छ । आइस्याडो लगाउँदा आँखाका साथै आँखाको भित्री कर्नर तथा आइब्रोको तल थोरै आइस्याडो लगाउनुपर्छ ।
पाउडर : उमेर वृद्धिसँगै छालाको प्राकृतिक सुन्दरतामा कमी आउँछ । यस्तो अवस्थामा पाउडर प्रयोग गर्दा चाउरी देखिन सक्छ । धेरैले अनुहारमा आउने चिल्लोपन कम गर्न पाउडर प्रयोग गर्छन् । यद्यपि पाउडरले चाउरीपनको समस्या उत्पन्न गर्छ । पाउडरको साटो मोस्चराइजरयुक्त फाउन्डेसन प्रयोग गर्नुपर्छ । यसले छालामा देखिने चिल्लोपन कम गरेर त्यसमा निखार ल्याउँछ ।
ब्लसर : अनुहारमा लगाइने पाउडरजस्तै ब्लसरको प्रयोग गर्दा पनि केही समयपछि चाउरीपन देखा पर्न थाल्छ । त्यसैले क्रिमयुक्त ब्लसर प्रयोग गर्नुपर्छ । जवान देखिन पिंक कलरको ब्लसर प्रयोग गर्न सकिन्छ । ब्लसर लगाउँदा औंला सफा हुनुपर्छ ।
आइलाइनर : आँखाको सौन्दर्य बढाउन आइलाइनरलाई आँखाको एउटा कुनाबाट अर्को कुनामा मिलाएर लगाउनुपर्छ । यसले आँखाको सौन्दर्यमा निखार ल्याउँछ ।
कन्सिलर : उमेर वृद्धिसँगै धेरैजसोको आँखाको तल कालो दाग देखापर्छ । आँखामुनिको कालो घेरा छोप्न कन्सिलर प्रयोग गर्न सकिन्छ । जवान देखिन साधारणभन्दा पनि पिच तथा आफ्नो छालाको कलरको हल्का कन्सिलर प्रयोग गर्नुपर्छ ।
राम्रो छालाका लागि :  धेरैबेर घाममा बस्दा प्रिमेच्योर एजिङको समस्या हुनसक्छ । त्यसले कडा घाममा सकेसम्म जानुहुँदैन । खानेकुराको असर पनि सीधै छालामा पर्छ । त्यसैले राम्रो छालाका लागि सन्तुलित खानेकुरा खानुपर्छ ।
–शरीरमा पानीको कमी भए छालाको चमक फिक्का हुन्छ भने चाउरीपनको समस्या पनि बढ्न सक्छ । त्यसैले पर्याप्त पानी तथा तरल पदार्थ सेवन गर्नुपर्छ ।
–धूम्रपान छालाका लागि हानिकारक हुन्छ । यसले अनुहारको कम्प्लेक्सन बदलिनुका साथै अनुहार नराम्रो देखिन्छ । धूम्रपानको लत छालाका साथै स्वास्थ्यका लागि पनि हानिकारक छ ।
–थोरै अल्कोहलले स्वास्थ्यमा क्षति नपुर्‍याए पनि धेरै पिए छाला डिहाइड्ेरड हुन्छ । यसले अनुहार वरपरको छालालाई पनि प्रभावित तुल्याउँछ । अल्कोहलको सेवनले शरीरको आवश्यक भिटामिन पनि नाश हुन्छ ।
–तनाव पनि सौन्दर्यको शत्रु हो । तनावले अनुहारमा एक्स्ट्रा ओयल बनाउँछ । यसले अनुहारका रौंछिद्रहरू बन्द गरिदिन्छ । यसले ब्ल्याक हेड्स तथा दाग पैदा गर्छ । तनावबाट टाढा रहन एवं जवान देखिन केही समय ध्यान गर्नु आवश्यक छ ।
–मोटोपन अर्थात् आवश्यकताभन्दा बढी तौलले सुन्दरता बिगार्न सक्छ । कम उमेरमा यो कुरा थाहा नभए पनि उमेर वृद्धिसँगै त्यसले सताउन थाल्छ । यद्यपि उमेर वृद्धिसँगै डाइटिङ गर्दा तौल कम हुनुका साथै साइड इफेक्ट पनि देखिन्छ । अचानक तौल कम गर्दा गाला तथा घाँटीको छाला लुज हुन्छ । त्यसैले डाइटिङभन्दा तौल कम गर्ने प्रयास गर्नुपर्छ ।
–जवान तथा फिट देखिन नियमित रूपमा व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा शरीरबाट प्राकृतिक ओयल निस्कन्छ अनि छाला नरम हुन्छ भने रक्तसंचार पनि सुचारु हुन्छ । त्यसपछि छालाको अक्सिजनको कमी पनि पूरा हुन्छ । जसले गर्दा छाला स्वस्थ  तथा सुन्दर देखिन्छ ।
–ब्रेड, चिनी भएको जुस, चकलेट, चिप्स, पिज्जाजस्ता खानेकुराले पाचनप्रणालीलाई प्रभावित तुल्याउँछन् । जसको नकारात्मक असर छालामा देखिन्छ । त्यसैले स्वस्थ तथा सुन्दर छालाका लागि यस्ता खानेकुराबाट टाढै रहनुपर्छ ।
जवान देखिने सजिलो उपाय
सही तरिकाले मेकअप नगरे अनुहारको सौन्दर्य बिग्रन सक्छ । त्यसैले जवान तथा                                                           सुन्दर देखिन मेकअप गर्दा निम्न कुरामा ध्यान पुर्‍याउनुपर्छ :
–बढी उमेरका महिलाहरू डार्क सर्कल लुकाउन आँखाको तलको परेलामा बढी कन्सिलर लगाउँछन् जसले आँखा सानो देखिन्छ । त्यसैले आवश्यकताभन्दा बढी कन्सिलर लगाउनुहुँदैन ।
–बढ्दो उमेरका महिलाले कालो आइलाइनरको प्रयोगबाट बच्नुपर्छ । कुनै नरम तथा खैरो आइलाइनर लगाउनुपर्छ । यसले जवान देखाउँछ ।
–आँखीभौंमा धेरै गाढा पेन्सिल लगाउनुहुँदैन । यसो गर्दा उमेर धेरै भएजस्तो देखिन्छ ।
बढ्दो उमेरको संकेत थाहा पाउनुपर्छ
आँखा वरपरको छाला संवेदनशील हुन्छ । त्यसैले बढ्दो उमेरको संकेत सबैभन्दा पहिले आँखा वरपर देखिन्छ ।
बढ्दो उमेरको संकेत
–अनुहारको कान्ति नष्ट हुनु ।
–छालाको चमक जानु ।
–छालाको कसिलोपन कम हुनु ।
–आँखाको तल लाइन तथा चाउरी देखिनु ।
–निधारमा रेखा देखिनु ।
–हाँस्दा गालामा रेखा देखिनु ।
एन्टी एजिङ ब्युटी ट्रिटमेन्ट
केही खास ब्युटी ट्रिटमेन्टबाट बढ्दो उमेरको संकेत रोक्न सकिन्छ ।
–इन्जेक्टेबल फिलर्स ट्रिटमेन्टको प्रयोगबाट छालामा एजिङको प्रभाव कम गर्न सकिन्छ ।
–परम्परागत फेस लिफ्टका अतिरिक्त रेडियो फ्रिक्वेन्सी ट्रिटमेन्ट पनि अपनाउन सकिन्छ ।
–लेजर प्रविधिले पनि छालामा एजिङको प्रभाव कम गर्छ ।
सावधानी : यी सबै ट्रिटमेन्ट दक्ष डर्मेटोलोजिस्टबाट मात्र गराउनुपर्छ ।