वर्षेनी माघे माघे संक्रान्तिका दिन नुवाकोटमा हुदै आएको गोरु जुधाई मेला यस वर्ष नहुने भएको छ । नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने ऐतिहासिक गोरु जुधाई मेला यस वर्ष स्थगन गरिएको हो ।
कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्वको गोरु जुधाई प्रतिस्पर्धा नहुने भएको हो ।
नुवाकोटका तारकेश्वर गाउँपालिकाको तारुका, तादी गापाको सातबीसे, लिखु गापाको सूर्यमति, पञ्चकन्या गापाको पञ्चकन्या, शिवपुरी गापाको शेराबगर, बेलकोटगढी नगरपालिकाको झिल्टुङ्ग, नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीलगायतका ठाउँमा वर्षेनी गोरु जुधाइ मेला लाग्ने गरेको थियो ।
बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुकामा भान्जालाई मावली आउँदा स्वागत गर्न गोरु जुधाएपछि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको बताईन्छ ।
नुवाकोटको बेत्रावतीमा भने नेपाल–चीन र भोट युद्धपछि गरिएको सम्झौताको सम्झनामा गोरु जुधाउनले परम्परा बसेको किंवदन्ती पाईन्छ । सोही अनुसार यस परम्परालाई अहिलेका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् ।
पछिल्लो समय नुवाकोटको पर्यटनलाई समेत गोरु जुधाई मेलाले सहयोग पुगेको स्थानीयको अनुभव छ ।