काठमाडौं । पश्चिमी वायुको प्रभावले हिजोदेखि देशको अधिकांश भूभागमा वर्षा भइरहेको छ भने उच्च पहाडी एवम् हिमाली भेगमा हिमपात भइरहेको छ ।
मौसम चिसो भएसँगै मुलुकभरको जनजीवन कष्टकर बनेको छ । यस्तो क्रम कहिलेसम्म होला ? सबैको प्रश्न एउटै छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीका अनुसार यो क्रम आज रातिसम्म कायम रहने छ । नगरकोटीका अनुसार मौसम चिसो पार्ने प्रणाली बिहीबार अर्थात् भोलि देखि क्रमिकरुपमा कमजोर बन्दै जाने देखिएको छ ।
आज पनि राति देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात पनि जारी रहने विभागको भनाई छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
आज सबैभन्दा धेरै जाडो जुम्लामा भएको छ ।
त्यहाँको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २८ दशमलव शून्य डिग्री सेल्सियस रहेको विभागले जनाएको छ ।