काठमाडौँ । महामारीका कारण मुलुकमा पर्यटक आउन सकेका छैनन् । जसका कारण पर्यटन आय अर्थात सेवा आय घाटामा रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बिदेशबाट घुम्न आउनेहरुबाट ४ अर्ब रकम प्राप्त भएकोमा घुम्न तथा पढ्न जानेहरुबाट भने १५ अर्ब बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मुलुक अहिले १ खर्ब ५१ अर्बले सोधनान्तर घाटामा छ । मुलुक भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढि भएसँगै यस्तो घाटा बढ्दै गएको हो । आयातका लागि मात्रै होइन बिदेश घुम्न तथा पढ्न जानेहरुबाट बाहिरिने रकम समेत बढ्दै गएकाले सोधनान्तर घाटा बढेको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा मात्रै यसरी पढ्न तथा घुम्न जानका लागि बाहिरिने रकम गत वर्षको सोहि अवधिको तुलनामा १ सय ८७ प्रतिशतले बृद्धि भएको छ ।
स्वदेशमा गुणस्तरीय शिक्षा सँगै रोजगारीको सुनिश्चीतता हुन नसक्दा बिदेशीने मुलुक प्रत्येक वर्ष बढ्दै गएको छ ।
बैदेशिक अध्ययन अनुमति साखाका अनुसार यो वर्षको चार महिनामा मात्रै जापान जानका लागि ६ हजार ९ सय ९० युवायुवतीले नो अब्जेक्सन् लेटर लिएका छन् । अमेरिकाका लागि भनेर २ हजार ७ सय र बेलायतका लागि २ हजार ९ सय ९० जनाले अनुमति लिएका छन् ।
यसरी उच्च शिक्षाका लागि मुलुकबाहिर जाने क्रम बढेसँगै मुलुकबाट बाहिरिने रकम पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको तीन महिनामा मात्रै मुलुकबाट पढ्न जानेहरुबाट मात्रै ८ अर्ब ९२ करोड बाहिरिएको छ ।
महामारीकाका कारण विदेश पढ्न जानेहरु ठप्प जस्तै हुँदा पनि बिदेश गइसकेकाले जागीर गुमाएका कारण मुलुकबाट रकम बाहिरिन भने नरोकिएको राष्ट्र बैंकको भनाई छ ।
नेपालबाट अहिले १ सय ३ मुलुकमा पढ्नका लागि युवा बाहिरिने गरेको सरकारी आकडा छ । यसरी उच्च शिक्षाका लागि भनेर बिगत २२ वर्षमा ४ लाख १६ हजार युवायुवती बिदेशीएका छन् ।