काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँलाई नियुक्त गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभागका प्रमुख गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो । गुरागाइले आजैदेखि कार्यभार सम्हाल्ने छन् ।
प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई सरुवा गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा ल्याएको छ ।
एक साताअघि प्राधिकरणको महानिर्देशक नियुक्त राजकुमार क्षेत्रीले आफु मातहतका विभागमा जिम्मेवारी फेरबदल गरेका हुन् । यसअघि प्राधिकरणका निर्वतमान महानिर्देशक राजन पोखरेलले प्राधिकरणबाट बाहिरिने क्रममा कर्मचारीको सरुवा गरेका थिए ।
मन्त्रिपरिषद्को यही कात्तिक ९ गते भएको बैठकले क्षेत्रीलाई महानिर्देशक पदमा नियुक्त गरेको थियो ।