बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तनहुँ जलविद्युत आयोजनाको कामले तिब्रता पायो, आगामी तीन वर्षमा सक्ने योजना

शुक्रबार, असोज २९ २०७८

काठमाडौं । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । 

आयोजनाको तीन वटै प्याकेजका काम दसैंमा पनि निरन्तर सञ्चालन भइरहेको हो ।  प्याकेज–२ अन्तर्गत सिनो हाइड्रोले भूमिगत कामहरु गरिरहेको छ ।  आयोजना प्रमुख अच्युत घिमिरेका अनुसार पावरहाउस, वर्क टनेल, सर्च ट्याङ्क लगायतका कामलाई दसैंमा पनि निरन्तरता दिइएको छ । हाल ५५ जना चिनियाँ प्राविधिक, कामदारसहित दुई सय १५ जनाले प्याकेज–२ अन्तर्गतको काम गरिरहेका छन् । 

प्याकेज–३ अन्तर्गतको प्रशारण लाइन निर्माणको कामलाई पनि तीव्रता दिइएको छ । सो प्याकेजअन्तर्गत हालसम्म २७ वटा फाउण्डेशनको काम सकिएको छ भने ६ वटा फाउण्डेशनको काम चलिरहेको छ । कूल ९४ मध्ये २० वटा टावरका लागि सामग्री आउने क्रममा छन् । 

प्रशारण लाइन निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा वितरण भइरहेको छ ।

प्याकेज–१ अन्तर्गत पनि निर्माण कम्पनीले आवश्यक तयारी थालेको छ । सो प्याकेजअन्तर्गत नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजका लागि आठ जना भियतनामी प्राविधिक साइटमै परिचालन छन् । 
आयोजनाले सामाजिक उत्तरदायित्व वहन कार्यक्रमअन्तर्गत खानेपानी, बाटो निर्माण गरिरहेको छ । साथै विद्युत् सेवा नपुगेका ग्रामीण भेगमा विद्युतीकरणको कार्यक्रम पनि आयोजनाले सञ्चालन गरिरहेको छ । 

आयोजनाको कूल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

सन् २०२४ मा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।