काठमाडौं । इन्द्रजात्राका अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारिएको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म तीन दिन मनाइन्छ ।
जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङले शृङ्गारपटारका साथ तरबार समात्न लगाई नगर पूरै परिक्रममा गराउने प्रचलन छ । नगर परिक्रमा गर्दा भक्तपरका टोल–टोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्दछन् ।
जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता ९आकाश दीप० बालिन्छ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो ।
साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकालिन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।
जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सोअनुसार मुपात्र बन्ने व्यक्तिलाई अछुतको व्यवहार गरिन्छ । त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ ।