बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यौनकर्मीका वेदना : ‘एड्स त पचाइयो, कोरोना के हो र ?’

मंगलबार, साउन १२ २०७८

काठमाडौँ l २९ वर्षीया कञ्चन (नाम परिवर्तन) यौनपेशामा लागेको पाँच वर्ष भयो। श्रीमान्ले अर्की श्रीमती ल्याएर उनलाई हेला गर्न थालेपछि सहन नसकेर काठमाडौँ आइपुगिन्  चिनजानकी दिदीले एउटा रेस्टुरेन्टमा काममा लगाइदिइन्। त्यहीँबाट बिस्तारै उनले यो पेशा समातिन्। उनको घर र माइतीले थाहा पाए। त्यो दिनदेखि परिवारसँग उनका सबै कडी टुटे। ‘दशैँ, तिहार, तिज, होली सबै एक्लै मान्छु,’ कञ्चनले भनिन्, ‘चाडपर्वमा त आफ्नो नमान्ने परिवारले अहिले कोरोनाको बेलामा मलाई के आफ्नो मान्थ्यो र ? चार महिनाकोलकडाउन कोठामै बसेर बिताएँ।’ 

केही संस्थाले उनलाई दुईचार किलो चामल र दाल राहत दिएका थिए। तर, उनीसँग ज्वरो आएको खण्डमा सिटामोल खाने पैसा पनि थिएन। ग्यास सक्किएर चुलो बल्न छाडिसकेको थियो। ४० रुपैयाँ पर्ने जारको पानीसमेत खान सकिनन्।‘त्यही ग्यास र पानीका लागि भएपनि सडकमा आउनैप¥यो,’ कञ्चनले भनिन्। काममा फर्केपछि धेरै ग्राहकले धेरै पटक उनलाई एउटै प्रश्न सोधे– ‘कोरोनाको डर लाग्दैन ?’

म सबैलाई ‘एड्स त पचाइयो, कोरोना त के हो र ? त्यो पनि पचाइन्छ’ भनेर जवाफ दिन्थे,’ उनले भनिन्। 

कोरोनापछि ग्राहक घटेर कमाइ कम हुन थालेको उनले बताइन्। ‘पहिलाजस्तो कमाइ छैन,’ उनले भनिन्,‘पहिला हजारमा राजी हुने ग्राहक अहिले सयमा पनि राजी हुँदैनन्। धेरै पैसा आउने लोभले कतिसँग कन्डमबिनै राजी हुनुपर्ने अवस्था छ।’

अवस्था ३५ वर्षीयानमिता (नाम परिवर्तन)को पनि खराब छ। उनको नागरिकता छैन। नागरिकता नभएकै कारण उनले विगतमा यौनपेशा गरेर कमाएको एक पैसा पनि जोगाउन सकिनन्। ‘नागरिकता नभएपछि बैंकमा खाता खोल्न नमिल्दो रहेछ,’ नमिताले भनिन्, ‘उबेला पैसा कमाइयो। जति कमाइयो, उति रमाइयो। अहिले बिहान–बेलुकाको छाक टार्नै मुश्किल छ।’ 

नागरिकता नभएकाले विभिन्न संघसंस्थाले बाँड्ने राहत पनि उनको हातमा परेन। त्यस्तै, ‘गेटअप’कै आधारमा समाजकाकतिपय मानिसले उनलाई राहतबाट वञ्चित गरिदिए। ‘हाम्रो पेशाअनुसारको गेटअप हुन्छ,’ उनले भनिन्,‘मेकअप गर्छौं, चिटिक्क पर्छौं, राम्रो कपडा लगाउँछाँै। तर, त्यसैका आधारमा हामीलाई भेदभाव गरिन्छ।’ 

उनी एक दिन राहत लिन गएकी थिइन्। मेकअप गरेर, चिटिक्क परेर गएकी थिइन्। ‘त्यहाँ मलाई दुईचार जनाले ‘यस्तो मान्छेलाई किन राहत दिनुप¥यो? मेकअप गर्ने पैसाले चामल किनेर खाए भइहाल्यो नि’ भने।’

कञ्चनसँग भएजस्तो कोरोना पचाउने ‘बहादुरी’ नमितासँग छैन। कसैले कोठाभाडा र दुई छाकको बन्दोबस्त गरिदिए यस्तो महामारीमा जीउज्यान बाजी राखेर उनी सडकमा निस्कन्न थिइन्न। ‘कसैले त्यति मिलाइदिए त किन बाहिर निक्लन्थेँ र ?’ उनले भनिन्, ‘तर, मिलाइदिने कसले ? मेरा केही नियमित कस्टोमर छन्। एकचोटि भड्किए भने हातबाट फुस्किन्छन्। अनि, कोरोना–कोरोना भनेर बस्न पाइयो ?’ अन्नपूर्ण पोस्टमा खबर छ l