चार डलर पर्ने कोभिसिल्ड नामको भ्याक्सिन चार गुणा बढी मूल्यमा नेपालमा बिक्री गर्ने योजनाका साथ केही व्यापारी र सरकारमा रहेकाहरू कात्रोमा गोजी सिलाउँदै छन् । भारतमा कोभिसिल्ड प्रयोगमा आउँदै गर्दा सिरम इन्स्टिच्युटले स्पष्टसँग, सबैले बुझ्ने भाषामा भनेको थियो– यो भ्याक्सिनको जब पर्याप्त मात्रामा उत्पादन हुन्छ र बजारमा यसलाई सर्वसाधारणका लागि बिक्रीका लागि पठाइन्छ, त्यो बेला यसको मूल्य तीन देखि चार डलर कायम हुनेछ । उत्पादन पर्याप्त नभएका कारण अहिले कोभिसिल्ड अरू भ्याक्सिनझैं बजारमा पाइँदैन । कोभिसिल्डको उत्पादन लागत, नाफा सबै जोडेर खुद्रा मूल्य नै बढीमा चार डलर हो । यससम्बन्धी गहन रिपोर्ट बीबीसीको हिन्दी संस्करणले त्यही बेला प्रकाशित गरेको थियो ।
अबको केही महिनापछि भारतमा टिटानसको सुईझैं कोभिसिल्ड बिक्री हुनेछ । त्यो बेला यसको मूल्य बढीमा चार डलर पर्नेछ । सिरम इन्स्टिच्युटले अहिले पनि बेच्ने मूल्य भनेको चार डलरकै हाराहारीमा हो । तर नेपालका शासक, नेता, कर्मचारी र व्यापारीको नेक्ससले नेपाली जनता लुटकै लागि चार गुणा बढी मूल्यमा भ्याक्सिन आयात गर्ने योजना बनाएको हो । यो नै सत्य हो । शासनसत्तामा बस्ने, जनता लुट्ने, लुट्न नपाउँदा वा लुटेर जम्मा भएको धनमा आफ्नो भाग नलाग्दा सरकार ढाल्ने खेल हुने गर्छ ।
अहिले पनि ओली सरकार ढालेर नयाँ सरकार बनाउने खेल भइरहेको छ । ढुक्क भए हुन्छ, मनमा दुविधा नराखे पनि हुन्छ । ओली सरकार ठीक भएन भन्नेहरूले खोजेको भागबन्डा हो, जनताका लागि सुविधा होइन । आफूलाई पर्दा हामी यहाँ छौं भन्नेहरू भ्याक्सिनमा लुटको योजना बनिरहँदा कहाँ छन् ? अक्सिजन नपाएकार जनता मरिरहँदा कहाँ छन् ? उपचार नपाएर बिरामी छटपटिँदा कहाँ छन् ? देख्नुभएको छ ? यसकारण सत्ता समीकरणको असली खेल भाडबन्डामा छ । जनता लुटेर जम्मा भएको रकममा आफ्नो भाग नलाग्दा सबैको रगत उम्लिने गर्छ । कुरा यत्तिचाहिँ बुझिराखौं ।
देश र जनताको आवश्यकता जे जस्तो भए पनि यतिबेला देशमा चलाउनेहरूलाई राजनीतिले बेफुर्सदिलो बनाएको छ । कोरोना महामारीले कहाँ कहाँ के के भइरहेको छ ? भन्ने सरकारलाई खासै परबाह भएको देखिँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिन खोजिरहेका छन् । विपक्षी र उनकै पार्टीका माधव नेपाल गुटचाहिँ सबै कुरा छाडेर ओली सिध्याउने तयारीमा जुटेका छन् ।
कोरोनाले भयावह हुने देशहरूमा नेपाल शीर्ष स्थानमा छ । मानिसहरू अक्सिजन, आईसीयू, भेन्टिलेटर सुविधा नपाएर मरिरहेका छन् । नेताहरूलाई कोरोना लाग्यो भने ढुक्क भए हुन्छ, उनीहरूको उपचार नाम चलेकै अस्पतालमा हुन्छ । महामारीमा मर्ने भनेको जनता मात्रै हुन् । नेताका लागि कसैले पीर गर्नु पर्दैन । सायद यही भएर होला, नेताहरू राजनीतिमै बढी व्यस्त भएका छन् ।
कम्युनिस्टहरूलाई मानिसहरूले व्यंग्य गरेर कमाउनिष्ठ भन्ने गर्छन् । केही आलोचकहरूमा त अटल विश्वास छ, कम्युनिस्टहरूलाई अरू कसैले समाप्त पारिरहनु पर्दैन । यिनीहरू आआफंै एकआपसमा लडेर सक्किन्छन् । आफू मात्रै सकिँदैनन्, देशलाई पनि भँड्खालोमा जाक्छन् । दुईतिहाइ प्राप्त राजनीतिक दलको सरकार अहिले विश्वासको मत लिने अवस्थामा पुगेको देख्दा हो कि जस्तो पनि लाग्छ ।
प्रधानमन्त्रीको कुर्सीमा ओलीको सट्टा अरू कोही बसे भने पनि देश र जनताले पाउनेचाहिँ केही पनि होइनन् भन्ने कुरामा हामी ढुक्क हुनुपर्छ । सत्तामा हुँदा राज्यको साधनस्रोतमा जसरी हालीमुहाली गर्न पाइन्छ, त्यो गर्न पाइएन भनेर ओली सरकार ढाल्न खोजिएको हो भन्ने कुरामा दुईमत छैन । ओली गए भने आउने को ? प्रचण्ड, देउवा, माधव वा बाबुराम ? यीमध्ये कोही एक अवश्य हुन् । यी चारैको शैली हामीलाई थाहा छ ।
राजनीतिक दलहरूले जनतालाई आस देखाउँछन् । ती आशा पूरा गर्दैनन् । प्रधानमन्त्री ओलीले त चुनावी घोषणापत्रमा के केसम्म लेखेका थिएनन् ? पूर्वपश्चिम रेल, मोनोरेल, मेट्रोरेल, कृषिमा आत्मनिर्भर, प्रतिव्यक्ति आय ५ हजार डलर, घरघरमा बिजुली, जनजनमा सेयर, नयाँ शिक्षा नीति, काठमाडौंमा तीन वर्षमा विद्युतीय गाडी आदि आदि । के के चाहिँ थिएन होला ? चुनाव जितेपछि, सरकार बनाएपछि जनताले होइन, कहिले ओम्नी, कहिले यती, कहिले हुकाम, कहिले सम्धि, कहिले साला, कहिले सासू । ओहो । यस्तो ठूलो धोका ।
…………………..
संरचना खल्बल्याउने कोरोना
काठमाडौं । नेपालीमा उखान नै छ– जिउँदाका जन्ति, मर्दाका मलामी । परिस्थिति यस्तो आयो कि हामी आफ्ना इष्टमित्रको मृत्युमा मलामी हुन पाउन सकिरहेका छैनौं । प्रियजन गुमाएकाहरू डाँको छाडेर रुन पनि पाइरहेका छैनन् ।
पशुपति आर्यघाटमा हिजोआज कुपन हेरेर सामान चिनेझैं शवको ब्यागमा लेखिएको नाम हेरेर आफन्त बोलाइन्छ । गेट पारि, गेटवारिबाट मृतक आफन्तसँग अन्तिम भेटका लागि मानिसहरू पुग्छन् ।
कोभिड–१९ बाट ज्यान गुमाएकाहरूको दाहसंस्कार नेपाली सेनाले गर्दै आएको छ । आफन्तको ज्यान गइसकेपछि सेनाले जतिबेला शव ल्याउँछ, त्यही बेला पुग्नुपर्छ । कहिलेकाहीँ दिनभर बसेपछि साँझ शव आइपुग्छ । गत वर्ष त एक परिवारघाट पुग्दा उनीहरूका आफन्तको शव सेनाले जलाइदिइसकेको थियो । अन्तिमपटक मुख हेर्न पनि नपाई आफन्तसँग उनीहरू विछडिए । उनीहरूलाई लाग्दो हो– आफ्ना ती आफन्त कुनै दिन फेरि टुप्लुक्क आइपुग्ने पो हुन् कि ?
कोभिड–१९ भएपछि स्याहार गर्न आफन्त जान सक्दैनन् । मृत्यु भइसकेपछि सेनाले शव जिम्मा लिन्छ । दाहसंस्कार पनि सेनाले नै गरिदिन्छ ।
जीवनको अन्तिम यात्रामा केही दूरीसम्म मृतकले न आफन्त, न साथीभाई कोही लैजान पाइरहेका छैनन् ।
पशुपति आर्यघाटमा शवको लहरै दाहसंस्कार हुन थालेको छ । यस्तो कारुणिक दृश्य हेर्नु नपरोस् भनेर धेरैले धेरै किसिमको कामना गरे । विज्ञहरूले सावधान गराइरहे । सरकार–जनता दुवै पक्षले सायद कमजोरी गरे ।
ज जसले कमजोरी गरे, सायद ती बाँचे । कमजोरी गर्नेहरूले सारेर घरमै बसेकाहरू मरे कि ?
काठमाडौंको राजनीति पनि सफा त छैन । तर काठमाडौंको आकाश, महामारीको सिकार भएकाहरूको चिताबाट निस्किएको धूवाँले कालो भएको छ ।
कोरोना महामारीको यस्तो मुस्लोमा राजनीतिको चटक देख्नुपर्दा मन केही खिन्न हुन्छ ।
आफन्त गुमाउँदा पनि आफ्नो रीतिथितिले अन्त्येष्टि गर्न नपाएका, ढाडस दिने मान्छे पनि नपाई एक्लै रोइरहेका यी मानिसहरू देख्दा जो कोहीको मन पोल्छ ।
महामारीमा मर्नेहरू सबै वृद्ध छैनन् । सबै दीर्घरोगी छैनन् । उनीहरूका पनि आधा अधुरा धेरै सपनाहरू थिए होलान् । कतिपयले गर्न बाँकी धेरै काम थाती राखेका थिए होलान् । अस्पतालमा भर्ना हुँदै गर्दा –बिसेक भएर चाँडै आउँछु, पीर नगर्नू भनेर आफन्तसँग वाचा गरेका थिए होलान् ।
सबै वाचा कसका पो पूरा हुन्छ होला र ?
व्यागमा बन्द भएकाहरूका सपना, वाचा अधुरा नै भएका छन् ।
थाहा छैन, अझै कति यस्ता ब्याग देख्नुपर्छ । लहरै चिता कतिन्जेल हेर्नुपर्छ । चिताबाट निस्किएको कालो बादलले हाम्रा सपना ढाकेको कहिलेसम्म झेल्नुपर्छ ।
विवाह भएको पाँच महिनामै बिते सञ्जीव
काठमाडौं । विवाह गरेको पाँच महिना मात्रै भएको थियो । बागलुङ घर, चितवन ससुराली भएका सञ्जीव ललितपुरको लुभुमा डिप्लोमाका विद्यार्थीहरूलाई पढाउँथे । नेसनल इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङ कोर्स पूरा गरेका २८ वर्षीय पन्तमा कुनै प्रकारको दीर्घरोग नरहेको उनी निकट साथीहरूले बताएका छन् । तर यिनै २८ वर्षका सञ्जीवको शुक्रबार कोभिड–१९ का कारण मृत्यु भएको छ ।
सुसुराली चितवन पुगेर त्यहाँबाट घर बागलुङ जाने योजनासहित उनले काठमाडौं छाडेका थिए । चितवन पुग्नुअघि उनी साथीहरूसँग घुम्न गएका रहेछन् । घुम्न गएका साथीहरूमा कोरोना संक्रमण देखिएपछि उनी केही सचेत भए । तर भाइरस उनको शरीरमा पनि प्रवेश गरिसकेको थियो । ससुराली हुँदा ज्वरो र झाडापखाला देखियो । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो । सञ्जीवकी पत्नी नर्स हुन् । उनकै हेरचाहमा उपचार सुरु भयो । ज्वरो र झाडापखालाले च्याप्दै जान थाल्यो । अन्य समस्याहरू पनि देखिए । त्यसपछि भरतपुर अस्पतालमा भर्ना गरियो । आईसीयू युनिटमै राखेर उपचार गर्दा पनि सञ्जीवको ज्यान जोगिएन ।
बढी उमेर भएका, दीर्घरोग भएकाहरूको कोरोनाले ज्यान लिन्छ भन्ने गरिन्छ । अहिले त उपचार नपाएर पनि मानिसहरूको ज्यान गइरहेको छ । तर सञ्जीव न वृद्ध थिए, न दीर्घरोगी थिए । न त उनले उपचार नै नपाएका हुन् । उनकी त पत्नी आफैं नर्स थिइन् । अक्सिजन, आईसीयू, भेन्टिलेटर सबै सुविधा पनि पाए । तर उनको ज्यान जोगिएन ।
तस्बिरका अर्का यी व्यक्ति भारतका बडी बिल्डर्स हुन् । ३४ वर्षका जगदीश लाड नामका यी व्यक्तिको सात दिनअघि कोभिड–१९ कै कारण ज्यान गयो । जगदीशको मृत्युले पनि कोभिडको सिकार जोकोही हुन सक्छ भन्ने प्रमाणित भयो । नेपालमा धर्मश्रीजस्तै भारतमा भारतश्री नामक प्रतिस्पर्धा हुने गर्छ । शारीरिक सुगठनको यस्तो स्पर्धामा जगदीश भारतमा प्रथम भएका थिए । विश्व च्याम्पियनसिपमा चाहिँ उनी तेस्रो भएका थिए ।
तर यस्ता पहलवानको पनि कोभिडका कारण मृत्यु भएको छ ।
नेपालका सञ्जीव र भारतका जगदीश मात्रै होइन, धेरै युवाको ज्यान यो महामारीमा गइसकेको छ । १० भन्दा बढी बालबालिकाले समेत ज्यान गुमाएका छन् ।
शरीरको रोग प्रतिरोधात्मक क्षमता व्यक्तिपिच्छे फरक हुन्छ । आधारभूत विशेषता समान भए पनि प्रत्येक मानिसको शरीर फरक नै हुन्छन् । ९४ वर्षका दीर्घरोगी पनि कोरोनाबाट बाँचेका छन् । कोही युवा अवस्थाका स्वस्थ युवाले पनि ज्यान गुमाएका छन् ।
घाटमा शवको ताँती लाग्न थालिसकेको छ । अस्पतालमा बेड अभाव भइसकेको छ । यस्तो बेला आतंकित बन्ने होइन, सजग भएर यो महामारीमा सावधानी अपनाउनुपर्छ । महामारी उत्कर्षमा पुगेको यो बेला विज्ञहरूले दिएको सुझावअनुसार व्यवहार गर्ने हो भने कोरोनाबाट जोगिन सकिन्छ ।
…………………..
रेम्डेसिभिर : कुनै कामको छैन, तैपनि हजारौं खर्च
काठमाडौं । कोभिड–१९ कै लागि भनेर हालसम्म संसारमा कुनै औषधि उपलब्ध छैन । तर यो रोग लागेपछि बिरामीको शरीरलाई सहज हुने र रोगसँग लड्न सघाउ पुग्ने गरी चिकित्सकहरूले केही विधि र औषधिहरू दिने गर्छन् ।
सास फेर्न गाह्रो हुँदा अक्सिजन र भेन्टिलेटर, कोरोनाविरुद्ध लड्न सघाउने प्लाज्मा र रेम्डेसिभिर नामको औलोको औषधि दिने गरिन्छ । कोभिड–१९ का बिरामीको चाप बढ्दै जाँदा अक्सिजन, भेन्टिलेटरको अभाव बढ्दै गएको छ । अर्कोतिर रेम्डेसिभिर नामक औषधि चलाउन खोज्दा यो औषधि नपाउने स्थिति पनि छ ।
चिकित्सकहरूले बिरामीको अवस्था सुधार हुने आसमा रेम्डेसिभिर नामक औषधि प्रयोग गर्छन । यो औषधि कोभिड–१९ का बिरामीका लागि कति लाभदायक हुन्छ भन्ने अझै प्रमाणित छैन । विश्व स्वास्थ्य संगठनले पनि रेम्डेसिभिरलाई मान्यता दिएको छैन । यो कुनै खोप नभएर एन्टी भाइरल औषधि हो । कोभिड–१९ का गम्भीर बिरामीहरूलाई दिँदा केहीमा राम्रो नतिजा देखिएको छ । यही भएर पनि रेम्डेसिभिर प्रयोग भइरहेको छ ।
नेपालमा पनि गम्भीर बिरामीहरूमा यो औषधि चलाउने गरिन्छ । अन्य उपायहरू पूरा गर्दा पनि स्थिति सुधारोन्मुख नभएपछि चिकित्सकहरूले रेम्डे सिभिर प्रयोग गर्न खोज्छन् । बिरामीका आफन्तलाई रेम्डेसिभिर ल्याउन भन्छन् । सरकारले औषधि व्यवस्था विभागलाई रेम्डेसिभिर ल्याउने अनुमति दिइसकेको छ । आयातकर्ताहरूले पनि आयात गरेका छन् । कालोबजारीमार्फत बढी रकम असुली गर्न आयातकर्ताहरूले औषधि लुकाएको अनुमान गरिएको छ । तर अनुगमन हुन सकेको छैन ।
रेम्डेसिभिर खोज्न बिरामीका आफन्तहरू औषधि पसल पसल चहार्ने गर्छन् । तर औषधि भेट्टाउँदैनन् । रेम्डेसिभिरमा प्रस्टै कालोबजारी भएको देखिन्छ । औषधि व्यवस्था विभागको नादानीका कारण अहिले अनाहकमा मानिसहरूले दुःख पाइरहेका छन् ।
कोभिड–१९ का बिरामीलाई प्लाज्मा चढाएर उपचार गर्ने विधि पनि नेपालमा प्रयोगमा छ । यो विधि पनि प्रमाणित विधिचाहिँ होइन । यद्यपि पूर्वरानी कोमल शाहलाई समेत गत शुक्रबार बिहान प्लाज्मा चढाइएको छ ।
रक्त समूह मिल्ने संक्रमित व्यक्तिको रगतबाट प्लाज्मा झिकेर कोभिड बिरामीलाई रगतझैं प्लाज्मा चढाउने गरिन्छ । कोरोनाविरुद्धको एन्टीबडी रहेको प्लाज्माले कोभिड निको पार्न सघाउँछ भन्ने मान्यताका आधारमा यो विधि प्रयोगमा छ ।
प्लाज्माको खोजी गर्नु अहिले अर्को ठूलो चुनौती हो । प्लाज्मा चढाउन बिरामी र दाताबीच धेरै कुरा मिल्नुपर्छ । जस्तो कि दाता र बिरामीको रक्त समूह मिल्नैपर्छ । दाता विगतमा कोरोना संक्रमण भएकै हुनुपर्छ । संक्रमण भएको तीन महिना कटेको र छ महिना नकटेको हुनुपर्छ । यसबीच कोरोनाविरुद्धको खोप लगाएको हुन हुँदैन ।
प्लाज्मा व्यवस्थापनका लागि सरकारी संयन्त्र छैन । ब्लड बैंकमा पनि यसखाले सुविधा छैन । बिरामीका आफन्तले नै कोभिड भइसकेका मानिसहरू खोज्दै हिँड्नुपर्छ । यो कामका लागि गर्नुपर्ने संघर्षको कुनै सीमा छैन ।
केही युवाले स्वतःस्फूर्त रूपमा प्लाज्मा दाता र बिरामीका आफन्तबीच सम्पर्क स्थापित गराउन अनलाइन माध्यमबाट प्रयास गरिरहेका छन् ।
प्लाज्माथेरापी पनि प्रमाणित विधि होइन । तर पनि यो विधि चिकित्सकहरू स्वयंले सिफारिस गर्छन् ।
प्लाज्मा, रेम्डे सिभिरभन्दा पनि सामान्य उपचार पनि नपाउने स्थिति नेपालमा बनिसकेको छ । अहिले नेपालमा ३० हजारभन्दा बढी सक्रिय संक्रमित छन् । दैनिक पाँच हजारको दरले नयाँ थपिँदै छन् । ३० हजार संक्रमितको अवस्था के छ ? केही सहयोग चाहिएको छ कि ? भनेर सोधिदिने संयन्त्र छैन । भएको संयन्त्रले पनि अब धान्न सक्दैन ।
खोपको दुवै मात्रा लिइसकेका मानिसहरूले अब जनस्तरबाट स्वतःस्फूर्त समूह बनाएर संक्रमितहरूको उपचारमा सहयोगी भूमिका खेल्नुपर्ने अवस्था आउन सक्छ ।
……………………
अनौठो बजार
हल्ला पनि कस्तो ! भगवान्लाई पानी चढाए कोरोना निको हुने
एजन्सी । गुजरातको अहमदाबादस्थित साणंद क्षेत्रमा एउटा अफवाह फैलिएपछि हजारौंको संख्यामा मानिसहरू भेला भएका छन् । यस घटनासँग जोडिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिलाहरूको ठूलो भिड टाउकोमा पानीको गाग्री बोकेर हिँडिरहेको देख्न सकिन्छ ।
कसैले हिन्दु देवता बलिया देवलाई जल अभिषेक गरे मानिसहरू कोरोनाबाट बच्न सक्ने हल्ला फैलाएपछि निधराड र नवापुरा गाउँका महिलाहरू आफ्नो टाउकोमा पानीको गाग्री बोकेर मन्दिर हिँडेका थिए । अहमदाबाद ग्रामीणका डेप्युटी एसपी केटी कमरियाका अनुसार चाँगोदार थानेको नवापुरा गाउँ र साणंदको निधराड गाउँबाट ठूलो संख्यामा पानी लिएर बलिया देव मन्दिर पुगेका थिए ।
एकै पटकमा नौ सन्तान, सबै स्वस्थ
एजेन्सी । मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सातवटा भू्रण हुर्किरहेको भन्ने जानकारी दिएका थिए ।
मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको शल्यक्रियामार्फत ९ सन्तान जन्माइएको छ ।
सिसेको गर्भावस्थाले अप्रिकी राष्ट्र र त्यहाँका नेताहरूको ध्यान आकृष्ट गरेको थियो । जब मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम राष्ट्रपति बाह एनडले सरकारी कोषबाटै खर्च बेहोर्ने गरी सिसेलाई मोरक्कोको अस्पताल पठाएका थिए, जहाँ उनले पाँच छोरी र चार छोरा जन्माएकी छन् ।
‘आमा र सबै शिशुको अहिलेसम्म अवस्था राम्रो छ,’ मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले एजेन्से फ्रान्सेप्रेसे बताइन् । सिसेसँगै मालीबाट मोरोक्को पुगेका मालीका डाक्टरले उनीबारे थप जानकारी प्रदान गरिरहेको उनले बताए ।
उनीहरू थुप्रै हप्तापछि मात्रै घर फर्कने स्वास्थ्यमन्त्रीले जानकारी दिइन् ।
प्लेनमा बच्चा जन्मियो, जन्माउनेलाई आफू गर्भवती भएकोसमेत थाहा थिएन
एजेन्सी । अमेरिकाको उटाहकी एक महिलाले विमानमार्फत सल्ट लेक सिटीबाट होनोलुलु यात्रा गर्ने क्रममा जीवनकै बहुमूल्य उपहार प्राप्त गरेकी छन् जब उनी अचानक प्रसव पीडामा पुगिन् र बच्चा जन्माइन् त्यो पनि गर्भवती भएको बारे कुनै जानकारी नै नभई ।
डेलीमेलका अनुसार लाभिनिया मौंगा आफ्ना परिवारसहित बुधबार हवाईको यात्रामा निस्किएकी थिइन् । त्यतिबेला उनलाई अचानक सुत्केरी व्यथाले गाँज्यो ।
‘असाध्यै उत्साहित र खुसी,’ उनले शनिबार ट्वीट गरिन् ।
उनले उडान भर्ने दिन बिहान ट्वीट गरेकी थिइन्, ‘हे, लौ जाऔं है ।’
मौंगाको यो कथा विमानमा रहेकी एक यात्री जुलिया हान्सेनले टिकटकमा एउटा भिडियो हालेपछि भाइरल भएको हो । जुलियाले भिडियोमा लेखेकी थिइन्, ‘यो विमानभित्र भर्खरै एक बच्चाको जन्म भएको छ ।’
डेल्टा फ्लाइटमा भएका अन्य यात्रीले ती महिलालाई विमानभित्र बच्चा जन्माएकोमा बधाई दिएको फुटेज पनि सार्वजनिक भएका छन् ।
पछि चालक दलका एक सदस्यले विमानको इन्टरकममा एक यात्रीलाई स्वास्थ्य सहायता आवश्यक परेकोले भन्दै अन्य यात्रीलाई आफ्नै सिटमा बसिरहन आग्रह गरेको सुन्न सकिन्छ ।
हान्सेनले थपिन्, ‘गर्भावस्थाको तेस्रो त्रैमासिकमा पनि उनलाई किन विमान यात्रामा अनुमति दिइयो भन्ने धेरैलाई लागिरहेको होला । म उनको बुबाको ठ्याक्कै अघि बसेकी थिएँ र उनले भने, ‘छोरी गर्भवती भएको हामीहरूलाई पनि थाहा थिएन ।’’
लानी बामफिल्ड, कान्सास सिटीकी नर्सले आफ्नो फेसबुक पोस्टमा लेखिन्, ‘हवाईको यात्रा कस्तो भयो भनेर हामीलाई सोध्नेहरूका लागि यो भन्न चाहन्छु ।’
‘हामीले २६–२७ हप्ताको बच्चालाई विमानको बाथरुममा, समुद्रको बीचमा, तीन जना एनआईसीयू नर्स र फिजिसियनको सहयोगमा बच्चा जन्मायौं । अवतरण हुनु तीन घण्टाअघि नै बच्चा जन्मिए तापनि आमा र बच्चाको स्थिति निकै राम्रो थियो ।’
‘यत्तिका माथि पनि भगवान् हाम्रो साथमा पक्कै हुनुहुन्थ्यो ।’
निकै चकित ती आमाले आफ्नो छोराको नाम रोमन्ड काइमाना वेड कोब लाभाकी मौंगा राखेकी छन् । उनीहरू दुबैलाई होनोलुलुमा अवतरण भएपछि अस्पताल लगिएको छ ।
ती बच्चाका पिता इथान मागालेइले फेसबुकमा छोरा जन्मिएको खबरले आफू निकै उत्साहित भएको र रेमन्डको आगमनलाई चमत्कारको संज्ञा दिएका छन् ।
उनले बच्चा जन्माउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् र आफू सम्भवतः उत्कृष्ट पिता हुने आशा राखेका छन् ।