काठमाडौं । महामारीका बिचमा पनि सरकारले लोभलाग्दो आम्दानी गरेको छ । गत वर्ष चैत ११ गतेबाट लकडाउन भएसँगै आर्थिक क्रियाकलाप प्रभावित भएका थिए । यो वर्ष त पुरै समय नै महामारीमा बित्यो । तर महामारीका बिचमा पनि सरकारले ६ खर्ब ८३ अर्ब रकम संकलन गरेको छ । जुन लक्ष्यको ६७ दशमलव पाँच नौ प्रतिशत हो ।
सरकारले यो वर्ष १० खर्ब ११ अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो । गत वर्ष सरकारले ११ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा ५ खर्ब ९० अर्ब अर्थात लक्ष्यको ५३ प्रतिशत उठाएको थियो । अर्थात गत वर्षभन्दा पनि सरकारले महामारीका बेलामा राम्रो राजस्व प्राप्त गरेको छ ।
जसमध्ये सरकारले ६ खर्ब ३६ अर्ब करबाठ संकलन गरेको रकम हो । त्यस्तै गैर कर तर्फ ४६ अर्ब संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यसबाहेक सरकारलाई १० अर्ब अनुदान प्राप्त गरेको छ । जुन लक्ष्यको १६ दशमलव छ पाच प्रतिशत हो । किनभने सरकारले यो वर्ष ६० अर्ब रकम अनुदान प्राप्त गर्ने लक्ष्य लिएको थियो ।
यस्तै अन्य आम्दानी तर्फ पनि ३५ अर्ब रकम संकलन भएको देखिएको छ । यसरी हेर्दा सरकारलाई राम्रो आम्दानी भएको देखिन्छ ।
आम्दानी उच्च भएका बेलामा पनि सरकारले खर्चन सकेको छैन । सरकारले यो वर्षको बजेटमा बिकास निर्माणका लागि भनेर ३ खर्ब ५२ अर्ब छुट्टाएकोमा १ खर्ब ५ अर्ब मात्रै खर्च भएको छ । यो लक्ष्यको जम्मा ३० प्रतिशत मात्रै हो । यसको अर्थ अबका ३ महिनामा सरकारले बाँकि ७० प्रतिशत रकम खर्च गर्नु पर्छ ।
बिकास खर्च यो वर्ष पनि गत वर्षकै हाराहारीमा भएको छ । गत वर्षको चैत मसान्तसम्म बिकास खर्च ४ खर्ब ८ अर्ब छुट्टाएकोमा १ खर्ब ५ अर्ब अर्थात लक्ष्यको २५ प्रतिशत रकम मात्रै खर्च भएको थियो । अर्थात सरकारले महामारीमा पनि बिकास निर्माणमा भने तिब्रता नै दिएको पाउन सकिन्छ ।
तर सडक निर्माणको कामहरु भने त्यति सन्तोषजनक देखिदैन । भौतिक पूर्वाधार मन्त्रालयलका अनुसार आयोजनाहरुको काम अहिलेसम्म ४० प्रतिशतसम्म पनि सकिएको छैन । यही सरकारले नै घोषणा गरेको मदन भण्डारी राजमार्गमा जम्मा ३८ प्रतिशत मात्रखर्च भएको छ
त्यस्तै १ सय ७५ वटा पुल बनाउने भनिएकामा ७५ वटा पुल मात्र निर्माण सम्पन्न भएका छन् । मन्त्रालयका अनुसार ३ सय ७३ किलोमिटर सडकको त ठेक्का नै लाग्न नै बाँकि छ ।