बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कामदार लैजान कोरिया नै अनिच्छुक

बुधबार, चैत्र २५ २०७७

काठमाडौं l नेपालमा फेरि पनि दिनहुँ कोरोना संक्रमण दर बढ्न थालेको छ। यसले गर्दा भाषा पास गरेर बसेका नेपाली कामदार जानेको समय अनिश्चित हुँदै जान थालेको छ। नेपाली कामदारका लागि वैदेशिक रोजगारका लागि सबैभन्दा आकर्षक गन्तव्य मुलुक हो दक्षिण कोरिया। नेपालमा कोरोना संक्रमण घट्दै गए पनि पछिल्लो समय फेरि बढ्न थालेपछि भाषा परीक्षा पास गर्नेहरू तत्कालै जान पाउने अवस्था घट्न थालेको हो।

संक्रमण अझ बढ्दै गएकोले रोजगारका लागि कन्ट्रयाक भइसकेका र बिदामा नेपाल आएका नेपाली कामदार कोरिया जान नपाउने निश्चितजस्तै बनेको छ। कोरियाले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेकाले पनि तत्कालै कामदार जान नपाउने अवस्था बनेको छ।

नेपाल सरकारको तर्फबाट कोरियामा नेपाली श्रमिक पठाउन पटक–पटक प्रस्ताव राखे पनि कोरिया सरकार इच्छुक नभएका कारण रोजगारमा जान चाहनेलाई पठाउन सकेको छैन।

नेपालस्थित कोरियाली राजदूतावासका प्रतिनिधिसँग नेपाली कामदार पठाउन विभिन्न चरणमा वार्ता भइसकेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ।