बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको सम्पूर्ण जानकारी

मंगलबार, चैत्र १० २०७७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) आयोजनामा थ्री नेसन्स कप आज (मंगलबार) बाट सुरु हुँदैछ ।

एन्फा कार्यसमितिमा कर्मा छिरिङ शेर्पाको नेतृत्व आएपछि एन्फाले आयोजना गर्न लागेको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार बंगलादेश र किर्गिस्तानको यू-२३ टोली प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछन् । खेल साँझको साढे ५ बजे हुनेछ ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा लामाले गर्ने एन्फाले जनाएको छ ।

७२ सालको भुकम्पपछि एन्फाले दशरथ रंगशालामा गर्न लागेको यो पहिलो प्रतियोगिता समेत हो । यस अघि रंगशालामा दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आयोजना भएपनि सो प्रतियोगिता एन्फाले गरेको थिएन ।

थ्री नेसन्समा नेपाली टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्नेछन् । भारतीय आई लिग छोडेर किरण नेपाल आईसकेका छन् ।

नेपालले भने पहिलो खेलमा बुधबार किर्गिस्तानसँग खेल्नेछ ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ ।

टिकट दर नघट्ने –

यस अघिनै एन्फाले प्रतियोगिताको टिकट दर सामान्यतर्फ ७०० र भिआईपीतर्फ १५०० तोकेको थियो । तर अन्तिम पत्रकार सम्मेलमा समेत एन्फाले टिकट दर नघट्ने संकेत गरेकोजनाएको छ । पछिल्लो समय टिकट दर बृद्धि भएसँगै फुटबल प्रेमीहरुले टिकट दर घट्नुपर्ने बताउँदै आएका छन् ।

एन्फाले प्रतियोगिताको टिकट, स्पोन्सर र ब्रोडकाष्टिङबाट करिब १ करोड ५० लाख उठाउने लक्ष्य बनाएको छ । जसमा १ करोड प्रतियोगितामै सकिने एन्फाले जनाएको छ । बाकी ५० लाख भने फुटबलका अन्य कार्यक्रममा जाने एन्फाले बताएको छ ।

एन्फाले विजेता र उपविजेतालाई दिने क्रमश ५ हजार र ३ हजार डलर समेत सोहि रकमबाट खर्च हुने बताएको छ ।

यस पटक कोरोना भाईरसलाई मध्यनजर गर्दै एन्फाले ३ हजार टिकट नबेच्ने बताएको छ । सामाजिक दूरी कायम गर्नुपर्ने भएसँगै एन्फाले एक खेलमा १२ हजार टिकटमात्रै बिक्री गर्ने बताएको छ ।

मैदानभित्र प्रवेश गर्दा पूरा गर्नु पर्ने मापदण्ड

अखिल नेपाल फुटबल संघ एन्फाले मैदानमा उपलब्ध हुने सम्पूर्णलाई कोरोना भाईरस सम्बन्धित सम्पूर्ण मापदण्ड पुरा गर्नुपर्ने बताएको छ ।

प्रतियोगिताको पूर्व सन्ध्यामा प्रेस विज्ञप्ती जारी गर्दै एन्फाले कोभिडको महामारीमा संक्रमणको खतरा देखिएकाले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको हो ।

एन्फाले दर्शकलाई मास्क अनिवार्य समेत गरेको छ । यस्तै सामाजिक तथा भौतिक दूरी कामय गर्न, सेनिटाईजर अनिवार्य लगाउन र तापक्रम नाप्न आग्रह गरेको छ ।