बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोरोना बीमा: ६१ हजारभन्दा धेरै दाबी २५ हजार ३१३ मात्र भुक्तानी

शुक्रबार, माघ २ २०७७

काठमाडौं- कोरोना बिमाको दाबी भुक्तानीका लागि बिमा कम्पनीहरुमा भेरिफाई नभएको समेतलाई हिसाब गर्दा ६१ हजारभन्दा धेरैले दाबी भुक्तानीका लागि निवेदन दिइसकेका छन्। जस्मा दाबी गर्दै फाइल बुझाएकामध्ये अझै १० हजार ९७४ जनाको फाइललाई बिमा समितिले भरिफाइ नै गरेको छैन। विभिन्न बिमा कम्पनीहरुमा कोरोना बिमा गरी भुक्तानीका लागि कागजात पूरा गरेका ५१ हजार ७१७ जनामध्ये ५१ प्रतिशतभन्दा बढीले दाबी भुक्तानी पाउन नसकेका हुन्।

बिमा कम्पनीहरूले हालसम्म जम्मा २५ हजार ३१३ जनाको मात्र कोरोना बिमा दाबी भुक्तानी गरेका छन्। कम्पनीहरुले बिमितलाई कुल २ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी गरेका हुन्। 

अर्थ मन्त्रालयले बिमा समितिलाई कोरोना बिमाको दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएपनि कम्पनी तथा बिमा समितिले दाबी भुक्तानीमा आलटाल गरिरहेका छन्।

कोरोना बिमाको दाबी भुक्तानी बिमा पुलमार्फत् हुने व्यवस्था छ। बिमा समितिले आवश्यक निर्देशन नदिएकाले दाबी भुक्तानीमा ढिलाइ भएको भन्दै बिमितले गुनासो गरिरहेका छन्।

दाबी भुक्तानीका लागि कागजपत्र बुझाउनेमध्ये ३ हजार ७३९ को कोरोना परीक्षण रिपोर्ट जाँच गर्न बिमा समितिले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाएको छ। महाशाखाले ८ हजार ४० जना बिमितको परीक्षण रिपोर्ट भेरिफाइ गरेर समितिलाई बुझाइसकेको छ। कागजपत्र पूरा नगरेका २ हजार ७२१ जनाको फाइल बिमा कम्पनीमै फिर्ता पठाइएको छ।