नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १५४ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा १४८ महिला र २६१ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।अहिलेसम्म १९ लाख ९७ हजार ९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा कुल संख्या २ लाख ६६ हजार १ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये २ लाख ५९ हजार ७७२ जना निको भएका छन् । आज थप ४१४ जना निको भएको मन्त्रालयले जनाएको छ । निको हुने दर ९७.६ प्रतिशत रहेको छ ।
आज थपिएका संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार उपत्यकामा ११० महिला र १३६ पुरुषमा कोरोना पुष्टि भएको छ ।आज देशभर ४ हजार ४३४ सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या २ हजार ७४२ रहेको छ । काठमाडौंमा २ हजार ३०५ भक्तपुरमा १०२ ललितपुरमा २९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा बस्नेको संख्या १ हजार १०७ रहेको छ । १४४ जना सक्रमितको आइसीयूमा र ३५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभरका क्वारेन्टाइनमा २३७ जना रहेका छन् ।
आज थप ५ जनाको कोरोनाबाट निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ९३७ पुगेको छ ।