काठमाडौँ-सर्वोच्च अदालतले कक्षा ११ को पाठ्यक्रमबाट ‘अनिवार्य गणित’ हटाउने विषयमा पुनर्विचार गर्न निर्देशनात्मक आदेश दिएको छ। कक्षा ११ र १२ को पाठ्यक्रम लागू गर्नुपर्ने र त्यसमा गणितलाई अनिवार्य विषयका रुपमा राख्नुपर्ने मागसहित भगवता अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार सर्वोच्चले नयाँ पाठ्यक्रम लागू गर्र्न बाटो खोलिदिएको छ। यो वर्षदेखि लागू हुने भएको कक्षा ११ नयाँ पाठ्यक्रमबाट गणितलाई अनिवार्यबाट हटाएर स्वच्छिकमा राख्ने निर्णयमाथि सबै पक्षसँग छलफल गरेर एक वर्षभित्र निर्णय गर्न आदेश दिएको हो।
नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । रिट निवेदनमा संविधानको अनुसूची ८ अनुसार स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा भए पनि संघीय सरकारले पाठ्यक्रम प्रारुप तयार पारेको र गणित विषय नभएकाले नयाँ पाठ्यक्रम लागू नगर्न माग गरिएको थियो ।