नेपाल भ्रमणमा आएको चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार बेलुका नै भेट गरेको पुष्टि भएको छ । भेटबारेको दुविधालाई चिर्दै प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बालुवाटारमा चिनियाँ टोलीले प्रधानमन्त्रीसँग भेट गरेको पुष्टि गरेका हुन् ।
बालुवाटारमा आइतबार बेलुका चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीबिच औपचारिक भेटवार्ता भएको उनले ट्वीट गरेर जानकारी दिएका हुन् । भेटबारे उनले अबेर राति ट्वीट गरेर भेटबारे जानकारी दिएका हुन्।
आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले भेटको क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
चिनियाँ टोलीले सोमबार नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै र सामूहिक भेट गर्ने कार्यक्रम रहेको छ ।नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको हो।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार काठमाडौँ आएको हो । चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आएको हो ।