काठमाडौ, कार्तिक १२, विदेशम गएका कामदारहरुले नेपालमा पठाउने रकममा गिरावट भएको छ । तर रोजगारीमा जाने कामदारहरुको संख्यामा भने सामान्य बृद्धि देखिएको छ ।
भदौ मसान्तसम्ममा शुन्य दसमलव प्रतिशतले कमी आई एक खर्ब ५३ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३ दसमलव चार प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक दसमलव तीन प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २२ दसमलव तीन प्रतिशतले बढेको थियो ।
खुद ट्रान्सफर प्राप्ति शुन्य दसमलव आठ प्रतिशतले वृद्धि भई एक खर्ब ७६ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३४ दसमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या शुन्य दसमलव दुुई प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९ प्रतिशतले घटेको थियो ।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १० दसमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या नौ दसमलव आठ प्रतिशतले घटेको थियो ।
यो दुई महिनामा सोधानान्तर बचतमा भने सुुधार आएको छ । दुई महिनामा शोधनान्तर स्थिति आठ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दुई महिनासम्ममा २३ करोड ९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा सात करोड ८५ लाखले बचतमा रहेको छ । त्यसैगरि चालु खाता घाटा २१ अर्ब ७९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३५ अर्ब १६ करोड रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनासम्ममा ३१ करोड ६६ लाख रहेको चालु खाता यो अवधिमा १९ करोड २५ लाख कायम भएको छ ।
पुँजीगत ट्रान्सफर दुई अर्ब ९६ करोड र प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ९८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुुई अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब २३ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।