मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पृथ्वी राजमार्गमा ट्रक, बस र माइक्रोबस आपसमा ठोक्किँदा ११ जना घाइते

मंगलबार, कार्तिक १० २०८३

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । ट्रक, बस र माइक्रोबस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

प्रहरीकाअनुसार मंगलबार बिहान सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज १२५९ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी स्थानीय अस्पताल तथा कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।

दुर्घटनापछि उद्धार तथा राहत कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको जानकारी दिएका छन् ।

दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।