विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका कुनै पनि स्थानमा उल्लेख्य वर्षा भएको छैन। हाल मौसम सामान्य रहे पनि कात्तिक १० देखि १५ गतेसम्म मौसमी प्रणालीमा परिवर्तन आउने सम्भावना देखिएको हो।
मौसमविद् रोजन लामिछानेका अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीले नेपालको अधिकांश भूभागमा प्रभाव पार्न सक्छ। यद्यपि, यसबाट हुने वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न नसकिने विभागले जनाएको छ।
विभागका अनुसार कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ। अन्य भूभागमा भने वर्षाको सम्भावना न्यून रहेको छ।
आगामी मौसमी फेरबदलले विशेषगरी कृषि, पर्यटन र खेलकुद गतिविधिमा असर पार्न सक्ने अनुमान गरिएको छ। अहिले धान भित्र्याउने समय भएकाले किसानलाई अनुकूल मौसमको सदुपयोग गर्दै सम्भव भएसम्म कात्तिक ७ गतेभित्रै धान काट्ने र बाली भित्र्याउने काम सम्पन्न गर्न विभागले आग्रह गरेको छ।
विभागले कात्तिक ८ गतेपछि बाह्य कार्यक्रम, भ्रमण तथा कृषि कार्यको योजना बनाउँदा मौसमको अवस्थालाई ध्यान दिन पनि सचेत गराएको छ। मौसमसम्बन्धी पछिल्ला अद्यावधिक सूचना नियमित रूपमा लिएर मात्र कार्यक्रम तय गर्न सुझाव दिइएको छ।
बंगालको खाडीमा विकसित भइरहेको प्रणालीको प्रभावले नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगितामा समेत असर पर्न सक्ने सम्भावना छ। त्यसैले आयोजक तथा सम्बन्धित पक्षले मौसमको अवस्थालाई ध्यानमा राखेर आवश्यक तयारी गर्नुपर्ने देखिन्छ।
मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि विभागको वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा हेर्न वा ११५५ नम्बरमा फोन गर्न विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।