काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ।
एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले विज्ञप्ति जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन्।
विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवता र मानवीय मूल्य–मान्यताविपरीत भएको उल्लेख गरिएको छ। विश्व शान्तिको पक्षमा रहेको जनाउँदै एमालेले यस्ता अमानवीय घटनाको निन्दा र भर्त्सना गरेको छ।
नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद र चिन्ताजनक रहेको एमालेको भनाइ छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र हित सुनिश्चित गर्न एमालेले नेपाल सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ।