काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर आज महानवमीका अवसरमा सर्वसाधारण भक्तजनका लागि खुला गरिएको छ।
हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार मन्दिर बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म खुला रहनेछ। भक्तजनले उक्त अवधिमा मन्दिरमा पूजा, आराधना तथा दर्शन गर्न सक्नेछन्।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा दर्शनका लागि हजारौँ भक्तजनको भीड लाग्ने गर्छ।
दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार सरोकारवाला निकायसँगको छलफलपछि बिहान ५ देखि बेलुकी ६ बजेसम्म मन्दिर खुला गर्ने निर्णय गरिएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे तलेजु भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १०ः३९ बजे उनलाई स्थिरासनमा राखिएको थियो।
मूलचोकमा विराजमान तलेजु भवानीको महाअष्टमीका अवसरमा आज राति कालरात्रि पूजा गरिनेछ। उक्त पूजाका क्रममा ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने हेरचाह अड्डाले जनाएको छ।
विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर विशेष पूजा तथा आराधना गरिनेछ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान १०ः५१ बजे निर्धारित साइतमा यात्रा गराई बिहान ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराउने कार्यक्रम रहेको छ।