काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र रहन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।
शृङ्खलाका सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल तेस्रो खेलमा भने शनिबार क्यानडासँग पराजित भएको थियो। उक्त हारसँगै नेपालको शीर्ष ६ मा रहने सम्भावनामा दबाब परेको छ।
नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। ३५ खेलबाट २८ अंक रहेको नेपाल सातौँ स्थानमा झरेको छ। त्यसैले आज ओमानलाई पराजित गर्न सके नेपाल पुनः छैटौँ स्थानमा उक्लिनेछ।
लिग–२ को शीर्ष ६ मा रहने टोलीले आगामी क्रिकेट विश्वकप छनोटको प्रक्रियामा अघि बढ्ने अवसर पाउने भएकाले नेपालका लागि यो खेल महत्त्वपूर्ण छ। साथै, शीर्ष ६ मा रहन सके नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना पनि बलियो हुनेछ।
नेपालले यसअघि शृङ्खलाको पहिलो खेलमा क्यानडालाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो। तेस्रो खेलमा क्यानडासँग बेहोरेको हारपछि नेपाल आज जित निकाल्दै शृङ्खलाको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ।