काठमाडौं । यस वर्ष नवरात्रमा तिथि वृद्धि भएर अष्टमी दुई दिन परेकाले दुवै दिन महाअष्टमीका पूजा तथा धार्मिक कर्म गर्नुपर्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ ।
समितिका पूर्वसदस्य तथा वाल्मिकी विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते महाअष्टमीका दिन गरिएका पूजा तथा कर्मलाई कात्तिक २ गते पनि दशैँघर वा पूजा कोठामा दोहोर्याउनुपर्नेछ ।
कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि महाअष्टमीकै विधिअनुसार नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधना गर्नुपर्ने उहाँले बताउनुभयाे । अन्य धार्मिक कर्मसमेत अष्टमीकै दिन गरिने विधिअनुसार दोहोर्याउनुपर्ने उनको भनाइ छ ।
यद्यपि, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।
अष्टमी तिथि दुई दिन परेकाले यस वर्षको नवरात्र दशरात्र बन्न पुगेको छ। त्यसैले विजयादशमीका दिन टीका लगाउँदा १० रातका जमरा लगाइनेछन्। देवीको साधना, पूजा तथा आराधनाका लागि एक दिन थपिँदैमा धार्मिक विधिमा कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ।
हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा
राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने सोमबार राति कात्तिक २ गते हुने भएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार समितिसँगको परामर्श र तलेजुका पुजारीको परम्परागत विधिअनुसार उक्त पूजा गर्ने निर्णय भएको हो ।
हनुमानढोकामा महाअष्टमीको पूजा सम्पन्न गरेपछि त्यसको भोलिपल्ट महानवमीको पूजा तथा अन्य धार्मिक कर्म गर्ने परम्परा रहेकाले यस्तो व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयाे ।
हनुमानढोकास्थित दशैँघरमा कात्तिक १ गते आइतबार महाअष्टमीको सामान्य पूजा गरिएको थियो। मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ ।
महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशुको बलिसहित विशेष पूजा तथा आराधना गर्ने परम्परा रहिआएको छ ।