काठमाडौं । आश्विन शुक्ल अष्टमी अर्थात् महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाउँदैछन् ।
बडादसैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । वैदिक सनातन परम्परामा महाअष्टमीलाई विशेष महत्वका साथ लिने गरिन्छ । यस दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने उद्देश्यले शास्त्रीय विधिअनुसार पूजा आराधना गर्ने परम्परा छ ।
महाअष्टमीका अवसरमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलिसहित दुर्गा भवानीको पूजा गरिन्छ । यस क्रममा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र पाठ गर्ने चलन छ ।
धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रमा सात्त्विक, राजस र तामस गरी तीन प्रकारका पूजाको वर्णन गरिएको छ । जल, चन्दन, अक्षतालगायत षोडशोपचार विधिबाट गरिने पूजालाई सात्त्विक, पशुबलिसहितको पूजालाई राजस र मदिरासमेत चढाएर गरिने पूजालाई तामस पूजा भनिएको उहाँको भनाइ छ ।
गौतमका अनुसार शास्त्रीय मान्यतामा पशुबलिको पनि आफ्नै महत्व उल्लेख गरिएको छ । आसुरी प्रवृत्तिको नाश र देवीको आराधनासँग जोडेर पशुबलि दिने परम्परा चलिआएको उहाँ बताउनुहुन्छ । यद्यपि, ब्राह्मणका लागि पशुबलि निषेध गरिएको शास्त्रीय विधान रहेको उहाँको भनाइ छ ।
महाअष्टमीको राति कालरात्रिका रूपमा विशेष पूजा आराधना गर्ने परम्परा पनि छ । कालरात्रि पूजाको विधि र सङ्कल्प अलग हुने भएकाले यसको विशेष महत्व रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
महाअष्टमीका दिन काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी र बगलामुखीलगायत शक्तिपीठमा बिहानैदेखि श्रद्धालुको भीड लाग्ने गर्छ ।
त्यसैगरी उपत्यकाबाहिर धादिङको कालिका भगवती, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती तथा ताप्लेजुङको पाथीभरालगायत शक्तिपीठमा पनि विशेष पूजा आराधना गरिन्छ ।
यस दिन कलपुर्जा, हातहतियार तथा यातायातका साधन सफा गरी देवी स्थापना गरिएको स्थानमा राखेर पूजा गर्ने परम्परा छ । यस्ता साधनलाई देवीका शस्त्रअस्त्रका रूपमा मानी पूजा गरिन्छ । देवीका शस्त्रअस्त्रसँगै चतुरङ्गिणी सेनाको समेत आह्वान गरी पूजा गर्ने चलन छ ।
पशुबलि नचढाउनेहरूले आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवललगायत फलफूल तथा तरकारीलाई प्रतीकात्मक बलिका रूपमा चढाएर पूजा गर्ने गर्छन् ।
महाअष्टमीको राति हनुमानढोकास्थित दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने परम्परा रहेको छ ।