काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन् ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब २:३० बजे मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो ।
सिन्धुली प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि उनीहरूलाई सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।
घाइते हुनेमा जिप चालक ओखलढुंगाका २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन् ।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ ।