काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज नौ दुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन दसैँ घर तथा पूजा कोठामा कालरात्रि देवीको पूजा गर्ने चलन छ। काललाई समेत नष्ट गर्ने शक्तिका रूपमा पूजिने भएकाले यस देवीलाई कालरात्रि भनिएको धार्मिक मान्यता छ।
पुराणहरूमा कालरात्रि देवीलाई कृष्ण वर्णकी र भयङ्कर स्वरूप भएकी देवीका रूपमा वर्णन गरिएको छ। प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत भगवतीले नष्ट गर्न सक्ने मान्यता रहेकाले कालरात्रिको पूजा आराधना गर्दा भय, सङ्कट र नकारात्मक शक्तिबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।
नवरात्रको पहिलो दिन असोज १५ गते घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौँको जमरा राखिएको थियो। सोही दिन नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो।
नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो।
नवरात्रका नौ दिनसम्म दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गर्ने परम्परा छ। भक्तजनले देवीको आराधना गरी शक्ति, समृद्धि, सुख, शान्ति र कल्याणको कामना गर्ने गर्छन्।