काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश अस्तव्यस्त अवस्थामा रहेको बताएका छन्। दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्र अन्योल र अलमलमा रहेको बताएका हुन्।
शुभकामना सन्देशमा उनले राज्य प्रणालीलाई कसरी अघि बढाउने, प्रजातान्त्रिक आधारलाई कसरी बलियो बनाउने र अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने प्रश्न अहिले उठिरहेको उल्लेख गरेका छन्।
‘हाम्रो राज्य प्रणालीलाई कसरी लाने, हाम्रा प्रजातान्त्रिक आधारलाई कसरी बलियो पार्ने, हाम्रो अर्थतन्त्रलाई के गरेर उकास्ने भन्ने सवाल यतिबेला किन उत्पन्न भएको छ ?’ उनले प्रश्न गरेका छन्।
विद्यमान अवस्थालाई सुधार गर्दै प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले विश्व परिवेश र भूराजनीतिक परिस्थितिमा राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ बनाउन आवश्यक रहेको बताएका छन्।
पूर्वराजा शाहले भोटेकोसी बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक चातुर्यता अपनाउन पनि सुझाव दिएका छन्।
नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानको प्रतीक भएको उल्लेख गर्दै उनले राष्ट्रिय एकता र पारस्परिक सहयोगको महत्त्वमा जोड दिएका छन्।
‘देशको कठिन समयमा एकअर्कामा भाइचारा कायम राख्नु, एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै साँचो देशभक्ति हुन्छ,’ उनले शुभकामना सन्देशमा भनेका छन्।
उनले दसैँको अवसरमा देशवासीबीच आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्दै देशको हितलाई सर्वोपरि राख्नुपर्ने सन्देश दिएका छन्।