काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ। सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा सेवा हटाएपछि पार्टीले पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीलाई कार्यालय सुरक्षाको जिम्मेवारी दिएको हो।
कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा सीसीटीभी क्यामेरा जडान गरी निगरानीसमेत बढाएको छ।
एमालेका अनुसार वि.सं. २०४८ देखि केन्द्रीय कार्यालयमा उपलब्ध गराउँदै आएको सरकारी सुरक्षा सेवा हालै पूर्वजानकारीबिना हटाइएको थियो। सरकारी सुरक्षा हटाइएपछि तथा पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ र गतिविधि बढेको महसुस भएपछि पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाएको जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा गर्नेछ। त्यस्तै, सीसीटीभी क्यामेरामार्फत कार्यालय परिसरका गतिविधिमाथि निरन्तर निगरानी राखिनेछ।
सरकारी सुरक्षा सेवा हटेपछि एमालेले निजीस्तरबाट सुरक्षा प्रबन्ध मिलाएको हो। कार्यालयको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले जनशक्ति परिचालन र प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको जनाइएको छ।