काठमाडौँ । दुर्गा पक्ष अर्थात् बडादसैँको छैटौँ दिन आज नौ दुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल षष्ठीका दिन वैदिक सनातन धर्मावलम्बीले दसैँघर तथा पूजा कोठामा कात्यायनी देवीको आह्वान गरी विशेष पूजा गर्ने परम्परा छ।
पौराणिक मान्यताअनुसार, देवताहरूको कार्य सिद्ध गर्न भगवती देवी कात्यायन ऋषिको आश्रममा सुन्दरी कुमारीका रूपमा अवतार लिनुभएको थियो। उहाँको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गर्नुभएको र त्यसैका आधारमा देवीको नाम कात्यायनी रहन गएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ।
नवरात्रको छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीका विभिन्न स्वरूपको विशेष पूजा आराधना गर्छन्।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जौँको जमरा राखेर शैलपुत्री देवीको पूजा गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो। छैटौँ दिन आज कात्यायनी देवीको पूजा गरिँदै छ भने सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। यस अवधिमा देवीको आराधना र पूजापाठ गरी सुख, शान्ति, समृद्धि तथा शक्ति प्राप्तिको कामना गरिन्छ।
नवरात्रमा देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी र बगलामुखीलगायत मन्दिरमा भक्तजनले पूजा आराधना तथा दर्शन गरिरहेका छन्।
त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको चहलपहल बढेको छ।
नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ। कतिपय समुदायमा भने कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका र जमरा लगाउने चलन छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउन सकिन्छ। यसरी नेपालीले करिब १५ दिनसम्म बडादसैँ पर्व श्रद्धा र उल्लासका साथ मनाउने गर्छन्।