मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. पुनः नियुक्त, सेयरधनीलाई छ प्रतिशत लाभांश

बुधबार, असोज २८ २०८३

माछापुच्छ्रे बैंक लिमिटेडको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारण सभाले बैंकका अध्यक्षमा रोशन के.सी.लाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । के.सी. आगामी चार वर्षे कार्यकालका लागि बैंकको अध्यक्षमा पुनः नियुक्त भएका हुन् ।

साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट रोशन के.सी., मुकुन्द महत र कृति महतलाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, सर्वसाधारण सेयरधनीका तर्फबाट विश्व प्रकाश गौतम निर्विरोध निर्वाचित भएका छन् । साधारण सभापश्चात् बसेको बैंक सञ्चालक समितिको बैठकले के.सी.लाई अध्यक्षमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै उक्त आर्थिक वर्षको खुद मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको छ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । प्रस्तावअनुसार सेयरधनीले तीन प्रतिशत नगद लाभांश र तीन प्रतिशत बोनस सेयर गरी कुल छ प्रतिशत लाभांश प्राप्त गर्नेछन् । उक्त लाभांश करसहितको हुनेछ । बैंकका अनुसार बोनस सेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । अग्राधिकार सेयरसमेत जोड्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम भएको थियो ।