बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको नेतृत्वमा दिपक कुमार मलहोत्रा

बिहिबार, असोज २२ २०८३

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको दशौं वार्षिक साधारण सभाले दिपक कुमार मलहोत्राको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । काठमाडौंमा सम्पन्न साधारण सभाले मोबाइल फोन व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउनेसहित व्यवसायीका साझा समस्या समाधानलाई प्राथमिकता दिने नयाँ नेतृत्व चयन गरेको हो।

साधारण सभाको प्रारम्भमा अध्यक्ष दिपक कुमार मलहोत्राले उपस्थित पदाधिकारी तथा सदस्यलाई स्वागत गरेका थिए। सभामा उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको वार्षिक कार्यप्रगति विवरण तथा कोषाध्यक्ष प्रभाकर शम्शेर थापाले वार्षिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए । सभामा सदस्यहरूले एशोसिएसनको कार्यसम्पादन, मोबाइल फोन व्यवसायमा देखिएका समसामयिक चुनौती, व्यवसायीका साझा समस्या तथा आगामी कार्यदिशाका विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए । त्यसपछि सम्पन्न निर्वाचनबाट नयाँ सञ्चालक समिति सर्वसम्मत चयन भएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा र कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन भएका छन् । त्यस्तै, सञ्चालक सदस्यहरूमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा चयन भएका छन् । निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष मलहोत्राले एशोसिएसनलाई सर्वसम्मत रूपमा नयाँ नेतृत्व प्रदान गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य तथा पदाधिकारीप्रति आभार व्यक्त गरे । उनले मोबाइल फोन व्यवसायलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी र उत्तरदायी बनाउन सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला पक्षसँग प्रभावकारी समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, उपाध्यक्ष अग्रवालले एशोसिएसनको संस्थागत सुदृढीकरणसँगै मोबाइल फोन व्यवसाय क्षेत्रको दिगो विकास र व्यवस्थित बजार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनका अनुसार मोबाइल फोनको वितरण प्रणाली तथा बजार व्यवस्थापनमा सुधार, अवैध पैठारी अर्थात् ‘ग्रे मार्केट’ नियन्त्रण, एमडीएमएसको प्रभावकारी प्रवद्र्धन, छाता संगठनहरूसँग समन्वय तथा सहकार्य, व्यवसायीको हकहित संरक्षण र उपभोक्ता हित प्रवद्र्धन एशोसिएसनका प्रमुख प्राथमिकता हुनेछन् । अग्रवालले निजी क्षेत्र, सरकारी निकाय तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै मोबाइल फोन व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन एशोसिएसनले सक्रिय भूमिका निर्वाह गर्ने बताए ।

नयाँ कार्यसमितिले मोबाइल फोनको आयात तथा वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने, अवैध बजार नियन्त्रणका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने र व्यवसायी तथा उपभोक्ताका साझा हितलाई केन्द्रमा राखेर आगामी कार्य अघि बढाउने जनाएको छ ।