बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एशियाका उत्कृष्ट होटलको सूचीमा ‘द पाभिलियन्स हिमालयज’

बिहिबार, असोज २२ २०८३

काठमाडौं  । पोखरास्थित लक्जरी इको–रिसोर्ट द पाभिलियन्स हिमालयज, द फार्म सन् २०२६ को कोन्दे नास्ट ट्राभलरको रिर्डस च्वाईस अवार्डमा एसियाका उत्कृष्ट होटलमध्ये छनोट भएको छ । दिगो पर्यटन, वातावरण संरक्षण र स्तरीय आतिथ्य सेवाका लागि परिचित रिसोर्ट अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सूचीमा पर्न सफल भएको हो ।

प्राकृतिक वातावरणसँग समायोजन गरी सञ्चालनमा रहेको पाभिलियन्स हिमालयजले विलासी आतिथ्यसँगै वातावरणीय दिगोपन र जिम्मेवार पर्यटनलाई प्राथमिकता दिँदै आएको जनाएको छ । रिसोर्टले स्थानीय समुदायको सहभागिता तथा प्राकृतिक स्रोतको संरक्षणलाई पर्यटन व्यवसायसँग जोडेर आफ्नो सेवा र पूर्वाधार विकास गर्दै आएको छ ।

विश्वप्रसिद्ध यात्रा तथा पर्यटन प्रकाशन कोन्दे नास्ट ट्राभलरले आयोजना गर्ने रिर्डस च्वाईस अवार्ड यात्रु तथा पाठकको रोजाइ र अनुभवमा आधारित प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो । यसमा विश्वभरका होटल, रिसोर्ट, गन्तव्य तथा पर्यटन सेवाहरूलाई समेटिने गरिन्छ ।

पाभिलियन्स हिमालयजको अन्तर्राष्ट्रिय सूचीमा छनोट हुनुले नेपालको लक्जरी तथा इको–टुरिजमलाई विश्व पर्यटन बजारमा थप पहिचान दिलाउने अपेक्षा गरिएको छ । विशेषगरी पोखरालाई उच्चस्तरीय, प्रकृतिमैत्री तथा दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न यो उपलब्धिले थप योगदान पुग्ने विश्वास गरिएको छ । नेपालको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र वातावरण संरक्षणलाई उच्चस्तरीय आतिथ्य सेवासँग जोडेर अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने प्रयासमा पाभिलियन्स हिमालयजको यो सफलता महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।