मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एन्फाको ६६ लाख ५३ हजार अनियमितता : चार जनाविरुद्ध मुद्दा चलाउन सिआइबीको सिफारिस

बिहिबार, असोज २२ २०८३

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको आर्थिक अनियमितता तथा खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

सिआइबीले अनुसन्धानका क्रममा एन्फामा ६६ लाख ५३ हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको निष्कर्ष निकाल्दै बुधबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।

सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराका अनुसार प्रतिवेदनमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको छ।

प्रवक्ता जबराले अनुसन्धानका क्रममा प्राप्त प्रमाण तथा कागजातको अध्ययनबाट ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको देखिएको जानकारी दिए। सोही आधारमा चार जनालाई प्रतिवादी कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको उनले बताए।

एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया तथा विभिन्न प्रतियोगितासँग सम्बन्धित गतिविधिमाथि केन्द्रित रहेर सिआइबीले अनुसन्धान गरेको थियो।

सिआइबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइसकेको जनाएको छ। अब प्रतिवेदनमा उल्लेख भएका तथ्य, प्रमाण तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा सरकारी वकिलको कार्यालयले आवश्यक निर्णय गर्नेछ।