मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

मेस्सीको अन्तर्राष्ट्रिय करियरको भावुक बिदाइ, राष्ट्रिय टोलीका लागि उनको १२६औँ गोल

बुधबार, असोज २१ २०८३

ब्युनस आयर्स । फुटबल इतिहासकै महान् खेलाडीमध्ये एक लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेलेका छन् । मंगलबार (६ अक्टोबर) एस्टाडियो मोनुमेन्टलमा बेनिनविरुद्ध भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना ३–० ले विजयी हुँदा मेस्सीले एक गोल र दुई असिस्ट गर्दै अन्तर्राष्ट्रिय करियरलाई शानदार ढंगले टुंग्याएका छन् ।

८५ हजारभन्दा बढी दर्शकले भरिएको मोनुमेन्टल स्टेडियममा मेस्सीको बिदाइका लागि भावुक वातावरण बनेको थियो । खेलअघि नै मेस्सी आँसु पुछ्दै स्टेडियम पुगेका थिए । आफ्ना तीन छोरा थियागो, माटेओ र सिरोसँगै मैदान प्रवेश गर्दा आतिशबाजीसहित समर्थकहरूले ‘ओले, ओले’को नाराले स्टेडियम गुञ्जाएका थिए । राष्ट्रिय गानका क्रममा समेत मेस्सी भावुक देखिए ।

खेलको १०औँ मिनेटमा मेस्सीको सम्मानका लागि खेल केही समय रोकिएको थियो । त्यस क्रममा पूरा स्टेडियममा उपस्थित दर्शक उभिएर उनलाई तालीसहित सम्मान गरेका थिए ।

खेल पुनः सुरु भएपछि मेस्सीले निकोलस ओटामेन्डीलाई गोलका लागि पास उपलब्ध गराउँदै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि निको पाजले दोस्रो गोल गरे ।

७१औँ मिनेटमा प्राप्त पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्दै अर्जेन्टिनाको अग्रता ३–० बनाए । यो राष्ट्रिय टोलीका लागि उनको १२६औँ गोल हो ।

मेस्सीको अन्तिम अन्तर्राष्ट्रिय खेललाई अर्जेन्टिनामा ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको थियो । खेलअघि नै उनी भावुक बनेका थिए । समर्थकहरूले भरिएको सडक हुँदै अर्जेन्टिनी टोलीको बस स्टेडियमतर्फ अघि बढ्दा मेस्सीले पटक–पटक आँसु पुछेका थिए ।

मैदान प्रवेश गर्दा मेस्सी आफ्ना तीन सन्तानसँगै थिए । उनकी पत्नी एन्टोनेला रोकुज्जो र आमा सेलिया कुक्चिटिनीले भीआईपी बक्सबाट हात हल्लाउँदै उनलाई बिदाइ गरेका थिए ।

खेलअघि मैदानमा मेस्सीको १० नम्बरको जर्सीसहित ‘धन्यवाद’ लेखिएको विशाल अर्जेन्टिनी जर्सी राखिएको थियो । त्यसपछि स्टेडियममा उपस्थित हजारौँ समर्थकले मेस्सीको सम्मानमा जयजयकार गरेका थिए ।

फकल्यान्ड युद्धका पूर्वसैनिक फाबियो सान्तानाले राष्ट्रिय गान गाएका बेला मेस्सी पुनः भावुक देखिए । सो अवसरमा ‘द माल्भिनास आर अर्जेन्टाइन’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिएको थियो ।

खेल सकिएपछि स्टेडियममाथिको आकाशमा विशेष ड्रोन शो आयोजना गरियो । ड्रोनमार्फत मेस्सीको आकृति बनाउँदै आठपटकका बालोन डी’ओर विजेता खेलाडीलाई उनको अतुलनीय करियरका लागि धन्यवाद दिइएको थियो ।