ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी बढुवा भएका छन्। बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओ पदमा बढुवा गर्ने निर्णय गरेको हो।
यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रेग्मीले लामो समयदेखि बैंकिङ क्षेत्रमा अनुभव हासिल गर्दै आएका छन्। उनले सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। सन् २००९ देखि भने उनी ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।
बैंकमा रहँदा रेग्मीले प्रमुख वित्तीय अधिकृत (सीएफओ), प्रमुख मानव संसाधन अधिकृत (सीएचआरओ), प्रमुख कर्जा अधिकृत (सीएलओ) तथा ट्रेड फाइनान्स प्रमुखलगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत रहिसकेका छन्।
रेग्मीले थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्।
ग्लोबल आइएमई बैंक आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको बैंक हो। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ।
यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्सअन्तर्गत सन् २०२२, २०२४ र २०२५ मा विभिन्न सम्मान प्राप्त गरेको छ। ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ तथा ‘बेष्ट इम्प्लोयर’ लगायतका पुरस्कारसमेत बैंकले प्राप्त गरिसकेको छ।
ग्लोबल आइएमई बैंकका अनुसार बैंक मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। हाल बैंकका ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालय रहेका छन्। यी माध्यमबाट बैंकले एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंक विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने प्रमुख वित्तीय संस्थामध्ये एकका रूपमा समेत स्थापित छ। बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको जनाएको छ।