बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निर्माण सामग्री ओसार्ने ट्रक तथा मिनी ट्रकको ठगी धन्दा, ५ ट्रिप किन्दा १ ट्रिप घाटा !

शनिबार, कार्तिक २ २०७६

काठमाडौं कात्तिक, २–  तपाईं राजधानीमा घर बनाउँदै हुनुहुन्छ वा निर्माणजन्य अन्य कुनै काम गर्दै हुनुहुन्छ ? यदि त्यसो गरिरहनुभएको छ भने इँटा, बालुवा चिप्स, ढुंगाजस्ता निर्माण सामग्री ओसार्ने ट्रक तथा मिनी ट्रकमा तपाईंले ध्यान दिनुभएन भने ठगिन पनि सक्नुहुन्छ ।

ट्रक तथा मिनी ट्रकले ग्राहक ठग्नेगरी चोर उपाय अपनाइरहेकाले घर बनाउनेहरू सर्तक र चनाखो बन्नुपर्ने देखिएको छ । उनीहरूले विभिन्न प्रपञ्च अपनाएर संगठित रूपमा नै ग्राहकलाई करोडौं रुपियाँ ठगिरहेका छन् ।

राजधानीमा ट्रक तथा मिनी ट्रकले सामान ओसार्दा ठगी गरेको उजुरीपछि शुक्रबार इँटा तथा बालुवासहितका निर्माण सामग्री बिक्री गर्दा ग्राहक ठगीको अभियोगमा प्रहरीले राजधानीका २३ वटा डिपो सञ्चालकलाई फक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार राजधानीका स्वयम्भू, महाराजगन्ज तथा बालाजु क्षेत्रबाट इँटा, बालुवा चिप्स, ढुंगाजस्ता निर्माण सामग्री बिक्री गर्दै आएका २३ विभिन्न डिपो सञ्चालकलाई कम परिमाणमा सामान बेचेर ग्राहक ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

डिपो सञ्चालकहरूले मिनी ट्रकमा पाँच इन्चसम्म काठ तथा फलामको बक्स ओच्छ्याएर कम परिमाणमा निर्माण सामग्री बिक्री गर्ने गरेको पाइएपछि प्रहरीले उनीहरूलाई फक्राउ गरेको हो ।

महाशाखाका अनुसार सामान्यतया एउटा मिनी ट्रकले १ सय क्युफिट ढुवानी गर्नुपर्ने देखिए पनि डिपोले ८२.६३ क्युफिट मात्र ढुवानी गरेर उपभोक्तालाई ठगी गरिरहेको पाइएको हो ।

यसरी हेर्दा पाँच ट्रिप निर्माणजन्य सामग्री खरिद गर्दा ग्राहकलाई एक ट्रिप घाटा हुने गरेको देखिएको छ । जसअनुसार पाच ट्रिप सामग्री झार्दा एक ट्रिप बराबरको पैसा ग्राहकले अनावश्यक रूपमा तिर्नुपरिहेको छ ।

यसैगरी एक ट्रिप इँटा बिक्री गर्दा डिपो सञ्चालकलाई २ सय वटासम्म इँटा फाइदा हुने गरेको छ भने ग्राहकलाई प्रतिट्रिपमा सो संख्यामा इँटा घाटा लाग्ने गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले डिपो सञ्चालकहरूले प्रतिट्रक १ हजार ६ सयदेखि २ हजार २ सयसम्म ठगी गर्ने गरेको जानकारी दिए ।

‘अनुसन्धानबाट प्रतिट्रक १ हजार ६ सयदेखि २ हजार २ सयसम्म ठगी हुने गरेको देखिन्छ, एक मिनी ट्रक इँटा बिक्री गर्दा ग्राहकलाई २ सय वटासम्म कम झार्ने गरेको देखिन्छ,’ महाशाखा प्रमुख थापाले भने ।

पक्राउ परेका सबैलाई ठगी मुद्दा लगाउने तयारी भएको उनले जानकारी दिए । यसैगरी, उनीहरूलाई सवारी साधनको स्वरूप परिवर्तन गरेकोमा समेत कारबाही हुन सक्ने उनले जानकारी दिए । राजधानी दैनिकले खबर छापेको छ ।