काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँ दरका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो। आइतबार प्रकाशित सूचनाअनुसार यसअघि योग्य ठहरिएका सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीले बोलपत्रमा सहभागी हुन सक्नेछन्।
यसअघि राष्ट्र बैंकले फागुन २०८१ मा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनीको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटिज प्रिन्टिङलाई योग्य कम्पनीका रूपमा छनोट गरेको थियो।
सिक्का छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत एक चरणमा प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ।
बोलपत्रसम्बन्धी कागजात राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा टक्सार महाशाखा, बबरमहलबाट प्राप्त गर्न सकिनेछ। कागजातका लागि २० हजार रुपैयाँ दस्तुर तोकिएको छ।
बोलपत्र पेस गर्नुअघि अक्टोबर १५ गते दिउँसो १२ बजे राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठक आयोजना हुनेछ।
इच्छुक कम्पनीले नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने राष्ट्र बैंकले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १ लाख ४८ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्नेछ। बोलपत्रको मान्य अवधि १२० दिन र धरौटीको मान्य अवधि त्यसपछि थप ३० दिन रहनेछ।
राष्ट्र बैंकले आवश्यकताअनुसार कुनै पनि वा सबै बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्न सक्ने जनाएको छ।