काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन गरेको छ।
सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सदस्य मनोनयन गरिएको छ। कोशी प्रदेशबाट मिलन लिम्बु, मधेसबाट रहबर अन्सारी, बागमतीबाट तोसिमा कार्की, गण्डकीबाट कविन्द्र बुर्लाकोटी, लुम्बिनीबाट सुशान्त वैदिक, कर्णालीबाट तासी लाजुङ र सुदूरपश्चिमबाट जनकसिंह धामी सदस्य मनोनयन भएका छन् ।
बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण जिम्मेवारी समितिलाई दिने निर्णय गरेको छ।
बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुख, उपप्रमुख तथा सदस्यसमेत मनोनयन गरेको छ।
प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्य र सुशासन तथा राज्य व्यवस्था विभागमा सुदिप ढकाललाई प्रमुख तोकिएको छ।
त्यस्तै, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह, आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल तथा विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्दलाई प्रमुख मनोनयन गरिएको छ।
संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको प्रमुखमा डा. धनञ्जय रेग्मी तथा सदस्यमा सम्राट बुढाथोकीलाई मनोनयन गरिएको छ। वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागको प्रमुखमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागको प्रमुखमा रिमा विश्वकर्मालाई जिम्मेवारी दिइएको छ।
अभियान तथा प्रचारप्रसार विभागको उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागको उपप्रमुखमा डिल्लिश्वर कार्की (रोहन) मनोनयन हुनुभएको छ।
रास्वपाले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
अभियानअन्तर्गत पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरू ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा पुगेर नागरिक, पार्टीका नेता–कार्यकर्ता तथा सरोकारवालासँग छलफल गर्ने र सुझाव संकलन गर्नेछन्।
बैठकले सबै केन्द्रीय सदस्य तथा सांसदलाई अभियानमा अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिएको छ।
बैठकमा मधेस प्रदेशमा पार्टी संगठनका समस्या र समाधानका उपायबारे सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइएको जानकारी गराइएको थियो।
बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक निर्णय लिने जनाएको छ।
रास्वपाले केन्द्रीय कार्यालयका लागि काठमाडौं उपत्यकामा उपयुक्त घर वा जग्गा खरिद गर्ने तयारीसमेत अघि बढाएको छ।
पार्टीलाई पायक पर्ने स्थानमा घर वा जग्गा उपलब्ध भए खोजी गरी जानकारी गराउन पार्टी सदस्य तथा शुभेच्छुकलाई आग्रह गरिएको छ।
बैठकले विजयादशमी, दीपावली, नेपाल संवत्को नयाँ वर्ष तथा छठ पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना पनि दिएको प्रवक्ता खरेलले जानकारी दिए ।