मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

इंग्ल्यान्डका पूर्व अलराउन्डर मोइन अली जनकपुर बोल्ट्समा अनुबन्ध

शनिबार, असोज १७ २०८३

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई अनुबन्ध गरेको छ ।

मोइन अली यस सिजनका लागि जनकपुर बोल्ट्समा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् । यसअघि बोल्ट्सले कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ ।

बायाँ हाते ब्याटर तथा अफस्पिन बलर मोइन इंग्ल्यान्ड क्रिकेटको सफल टोलीका महत्वपूर्ण सदस्य थिए । उनले सन् २०१९ मा घरेलु मैदानमा भएको एकदिवसीय विश्वकप जित्ने इंग्ल्यान्ड टोलीबाट खेलेका थिए । यस्तै, सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपको उपाधि जित्दा उनी इंग्ल्यान्डका उपकप्तान थिए ।

मोइनले क्रिकेटका तीनै प्रारूपमा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका छन् । उनी टेस्ट क्रिकेटमा ३ हजारभन्दा बढी रन र २ सयभन्दा बढी विकेट लिने सीमित अंग्रेज खेलाडीमध्ये एक हुन् । उनले टी–२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डको कप्तानीसमेत गरिसकेका छन् ।

सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका मोइन अहिले पनि विश्वका प्रमुख फ्रेन्चाइज क्रिकेट लिगमा सक्रिय छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सबाट खेल्दै सन् २०२१ र २०२३ मा उपाधि जितेका थिए ।

मोइनको आगमनसँगै जनकपुर बोल्ट्सको विदेशी खेलाडी समूह थप अनुभवी बनेको छ ।