मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

यू–१९ महिला विश्वकप र एनपिएल लक्षित गर्दै क्रिकेट मैदान स्तरोन्नति तीव्र

शुक्रबार, असोज १६ २०८३

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी दुई ठूला प्रतियोगिता आईसीसी यू–१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)लाई लक्षित गर्दै क्रिकेट मैदान तथा पूर्वाधार निर्माणको काम तीव्र पारेको छ।

आगामी पुसमा आयोजना हुने आईसीसी यू–१९ महिला विश्वकप नेपालले पहिलोपटक आयोजना गर्दैछ। त्यस्तै, एनपिएलको तेस्रो संस्करण कात्तिकदेखि सञ्चालन गर्ने तयारी छ।

दुवै प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी मैदानलाई व्यवस्थित बनाउने काम भइरहेको छ। विशेषगरी एनपिएलका अघिल्ला संस्करणमा देखिएका दर्शक तथा व्यवस्थापनसम्बन्धी समस्या दोहोरिन नदिन यसपटक तयारीमा विशेष ध्यान दिइएको छ।

“विगतमा जुन–जुन ठाउँमा त्रुटि भएको थियो, त्यसलाई यसपटक सच्याउने प्रयास गर्नेछौँ। दर्शकलाई सुविधा दिने प्रयास गर्नेछौँ, किनकि उहाँहरूले पैसा तिरेर खेल हेर्नुहुन्छ,” सिंहले भने।

दर्शकको सुविधाका लागि पार्किङ, बाइक स्ट्यान्डलगायत व्यवस्थापनलाई व्यवस्थित गर्न लागिएको उनले बताए। दर्शकलाई हुने असहजता पहिचान गरी त्यसमा सुधार गर्ने गरी तयारी भइरहेको उनको भनाइ छ।

एनपिएलका पहिलो र दोस्रो संस्करणमा देखिएका कमजोरी सुधार गर्दै यसपटक मैदानमा व्यवस्थापनसम्बन्धी समस्या नहोस् भन्नेमा क्यानले ध्यान दिएको सिंहले बताए।

विश्वकपका लागि टियु र मूलपानी तयार गरिँदै

नेपालले पहिलोपटक आयोजना गर्न लागेको यू–१९ महिला विश्वकपका खेल टियु र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। मूलपानीको तुलनामा टियु मैदानमा बढी खेल सञ्चालन हुने सिंहले जानकारी दिए।

प्रतियोगितालाई लक्षित गर्दै दुवै मैदानमा प्यारापिट, टोलीका लागि विश्रामस्थल तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), एसियाली क्रिकेट परिषद् (एसीसी) र खेलाडीका अभिभावकका लागि भिआइपी संरचना निर्माण भइरहेको छ।

लामो समयदेखि निर्माण तथा स्तरोन्नतिको क्रममा रहेको मूलपानी क्रिकेट मैदान अझै पूर्ण रूपमा तयार हुन नसकेको भन्दै सिंहले सरकारको ध्यानाकर्षण गराएका छन्। उनले मैदान निर्माणमा भइरहेको ढिलाइ अन्त्य गरी कामलाई गति दिनुपर्ने बताए।

“क्रिकेटले देशलाई अन्तर्राष्ट्रिय रूपमा चिनाएको छ। क्रिकेटले एउटा खुसी दिएको छ,” उनले भने, “त्यसैले क्रिकेट पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ।”

सिंहले मूलपानी क्रिकेट मैदानको निर्माण छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए। नेपालमा अन्तर्राष्ट्रियस्तरका थप क्रिकेट मैदान निर्माण भए भविष्यमा ठूला प्रतियोगिता आयोजना गर्न सहज हुने उनको भनाइ छ।

“चाँडोभन्दा चाँडो मैदान निर्माण गरेर अन्तर्राष्ट्रिय जगत्मा नेपालमा पनि कम्तीमा दुईवटा ठूला ग्राउन्ड भएको देखाउनुपर्छ,” उनले भने।

उनका अनुसार नेपालमा कम्तीमा दुई ठूला क्षमताका अन्तर्राष्ट्रिय क्रिकेट मैदान भए विश्वकप, एसीसी प्रिमियर कप, एसिया कप, विश्वकप छनोटलगायत प्रतियोगिता आयोजना गर्न सहज हुनेछ। नेपालमा यस्ता प्रतियोगिता आयोजना हुँदा पर्यटन तथा आर्थिक गतिविधिमा समेत योगदान पुग्ने क्यानको अपेक्षा छ।

“भोलिको दिनमा भारत र पाकिस्तान, एसीसी कपलगायत विभिन्न टुर्नामेन्ट नेपालले होस्ट गर्न पाउँछ। त्यसबाट आर्थिक लाभ हुन्छ,” सिंहले भने।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। मूलपानी क्रिकेट मैदानको निर्माणले पूर्णता पाए नेपालको क्रिकेट पूर्वाधार थप बलियो हुने क्यानले जनाएको छ।