मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

राजनीति, व्यवसाय र समाजसेवामा निरन्तर सक्रिय बिमल धमला

शुक्रबार, असोज १६ २०८३

पाँचथर । राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय बिमल धमला अर्थात् निरबहादुर विश्वकर्मा समाजसेवा र व्यवसायीको हकहितका लागि निरन्तर काम गर्दै आएका छन्।

२०५७ सालदेखि सुनचाँदी व्यवसायी संघ पाँचथरसँग जोडिएका धमलाले जिल्ला सदस्य हुँदै कोषाध्यक्ष र तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। उनी हाल नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिवका रूपमा व्यवसायीका हकहितका विषयमा सक्रिय छन्। यसअघि उनले महासंघको केन्द्रीय सदस्य र सचिवको जिम्मेवारीसमेत सम्हालेका थिए।

सामाजिक क्षेत्रमा पनि धमलाको लामो योगदान छ। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको जिल्ला सचिव हुँदै दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका उनी हाल तेस्रो कार्यकालमा समेत सक्रिय छन्।

राजनीतिक क्षेत्रमा नेपाली कांग्रेस पाँचथरको आमन्त्रित जिल्ला सदस्यका रूपमा काम गरेका धमला पार्टीका १३औँ, १४औँ र १५औँ केन्द्रीय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिसमेत बनेका छन्। नेपाल दलित संघको जिल्ला सचिवको जिम्मेवारी सम्हालेका उनी २०६९ फागुन १९ देखि २१ गतेसम्म झापाको बिर्तामोडमा सम्पन्न केन्द्रीय महाधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

उनी २०८१ असोजमा नेपाल दलित संघको केन्द्रीय तदर्थ समितिको सदस्यमा मनोनित भएका थिए। त्यसयता पनि पार्टी संगठनलाई सक्रिय र सुदृढ बनाउन उनी क्रियाशील छन्। स्कुल अफ डेमोक्रेसी पाँचथरको अध्यक्षका रूपमा पनि उनले लोकतान्त्रिक मूल्य र मान्यताको प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएका छन्।

२०६२/६३ को दोस्रो जनआन्दोलनमा अग्रमोर्चामा रहेर लोकतन्त्रका लागि सडक संघर्षमा सहभागी भएका धमला त्यसयताका विभिन्न निर्वाचनमा पनि सक्रिय रहँदै आएका छन्। २०६४ र २०७० का संविधानसभा निर्वाचनदेखि २०७४ र २०७९ का स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनसम्म उनले पार्टीका उम्मेदवारका पक्षमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

राजनीतिक यात्राकै क्रममा २०७६ पुस १९ गते उनी राष्ट्रियसभा सदस्यको उम्मेदवारसमेत बनेका थिए। २०७९ को स्थानीय तह निर्वाचनपछि उनी फिदिम नगरपालिकाको कार्यपालिका सदस्यसमेत बने।

व्यवसायिक क्षेत्रमा भने धमला २०५४ सालदेखि नै सुनचाँदी व्यवसायमा आबद्ध छन्। सुनचाँदी व्यवसायसँगै कफी उद्योग तथा कृषि फार्म सञ्चालनमार्फत स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत उनले योगदान दिँदै आएका छन्।

सुनचाँदी व्यवसायी संघ पाँचथरको अध्यक्ष रहेका बेला फिदिम नगरपालिकास्थित शिलवाल परिसरमा विश्वकर्मा बाबाको मन्दिर निर्माणमा उनले भूमिका निर्वाह गरेका थिए। विपद्का समयमा प्रभावित नागरिक तथा व्यवसायीलाई सहयोग गर्ने कार्यमा पनि उनी सक्रिय रहँदै आएका छन्।

हालै रसुवा, भोटेकोसी हुँदै त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावितका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमार्फत ४६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरी अर्थमन्त्रीमार्फत राहत कोषमा हस्तान्तरण गर्न धमलाले संयोजनकारी भूमिका निर्वाह गरेका थिए। प्रभावित व्यवसायी तथा कालिगडलाई प्रत्यक्ष भेटेर नगद सहयोग उपलब्ध गराउने कार्यमा समेत उनी सहभागी भएका थिए।

राजनीति, व्यवसाय र सामाजिक सेवालाई सँगसँगै अघि बढाउँदै आएका धमलाले आगामी दिनमा पनि संगठन, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

उनको सार्वजनिक यात्रामा व्यवसायीको हकहित, सामाजिक सेवा, लोकतान्त्रिक मूल्य–मान्यता र स्थानीयस्तरको आर्थिक गतिविधिसँग सम्बन्धित विषयहरू जोडिएका छन्।