मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सन्देशमूलक चलचित्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : सांसद सेन्चुरी

बिहिबार, असोज १५ २०८३

काठमाडौं । सामाजिक कुरीति, जातीय विभेद तथा छुवाछुतविरुद्ध जनचेतना फैलाउने सन्देशमूलक चलचित्रलाई राज्यले प्राथमिकता दिई प्रचार–प्रसार तथा प्रदर्शनमा सहयोग गर्नुपर्ने सांसद स्मृति सेन्चुरीले बताएकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सेन्चुरीले समाजमा अझै पनि पुरातन सामाजिक कुरीति, जातीय विभेद र छुवाछुतका अवशेष कायमै रहेको बताइन्।

यही सामाजिक कुरीति, जातीय विभेद र छुवाछुतको यथार्थलाई चित्रण गर्ने नेपाली कथानक चलचित्र ‘जदौ’ प्रदर्शनमा आएको उल्लेख गर्दै उनले यसअघि पनि समाजलाई जागरूक र सचेत बनाउन केही उत्कृष्ट चलचित्र निर्माण भएको स्मरण गरिन्।

तर राज्यले आफैँ सञ्चालन गर्नुपर्ने छुवाछुतविरुद्धको सचेतना अभियानमा कला र व्यक्तिगत लगानीमार्फत योगदान पुर्‍याउने सन्देशमूलक चलचित्रले नै विभेदको सामना गर्नुपरेको सांसद सेन्चुरीको भनाइ थियो। यस्ता चलचित्रले सहज रूपमा प्रदर्शनको अवसरसमेत नपाउने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सेन्चुरीले समाजका दबिएका आवाजहरू चलचित्रको पर्दामा देखिनुपर्नेमा जोड दिँदै विभेद र सामाजिक कुरीतिविरुद्ध सन्देश दिने चलचित्रलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरिन्।

राष्ट्रिय चलचित्र दिवसका अवसरमा सम्पूर्ण चलचित्रकर्मी तथा आम नागरिकलाई शुभकामना दिँदै उनले सन्देशमूलक चलचित्रको प्रचार–प्रसार गरी त्यसलाई आम नागरिकसम्म पुर्‍याउन सरकारले आवश्यक सहयोगी भूमिका खेल्नुपर्ने बताइन्।