काठमाडौँ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । तर नेपालमा भने तत्कालका लागि पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य नबढ्ने भएको छ ।
आईओसीले बुधबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा र मट्टितेल १५ रुपैयाँ ९६ पैसा बढेर आएको छ ।
त्यस्तै, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा तथा हवाई इन्धन प्रतिलिटर १८ रुपैयाँ ६६ पैसा बढेर आएको निगमले जनाएको छ ।
भारतबाट मूल्य बढेर आए पनि भोटेकोशीमा आएको बाढी, नजिकिँदै गरेका चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै नेपाल आयल निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।
हाल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारणका लागि देशलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम छ ।
सुर्खेत र दाङलाई समेटिएको दोस्रो वर्गमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायललाई समेटिएको तेस्रो वर्गमा प्रतिलिटर २०० रुपैयाँ कायम छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने देशभर प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम रहेको छ ।