मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

देउवा पक्षीय कांग्रेसको वडा अधिवेशन आजदेखि, ५६ जिल्लामा निर्वाचन संयोजक खटाइयो

बिहिबार, असोज १५ २०८३

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय समूहले १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आजदेखि सुरु गर्ने भएको छ ।

नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा पक्षले समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो ।

देउवा पक्षले आफ्नो १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ । सोही कार्यतालिकाअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी गरिएको छ ।

देउवा पक्षले आफ्नो महाधिवेशनसम्बन्धी जानकारी निर्वाचन आयोगलाई समेत गराइसकेको जनाएको छ । नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइसकिएको छ । आजदेखि सुरु हुने वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत खटाइएको छ ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै देउवा पक्षले अहिले महाधिवेशन गर्न नहुने धारणा राख्दै आएको थियो । संस्थापन पक्षले भने असोज ३ गतेदेखि नै महाधिवेशन प्रक्रिया अघि बढाइसकेपछि देउवा पक्षले पनि समानान्तर रूपमा आफ्नो महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी तयारी थालेको हो ।

देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै सङ्गठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउँदै नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उच्च मनोबल र उत्साहका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन् ।

देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै नेपाली कांग्रेसको आधिकारिक कार्यसमिति भएको दाबी गर्दै आएको छ । यही कारण संस्थापन पक्षले आह्वान गरेको १५औँ महाधिवेशन प्रक्रियामा देउवा पक्ष सहभागी भएको छैन ।