शेयरधनीलाई ‘हातखुट्टा भाँचिदिन्छु’ भन्दै धम्की ! शेयरधनीद्धारा कडा कारवाहीको माग
काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) समुहको बहुसंख्यक शेयर लगानी रहेको सानिमा बैंक लिमिटेडका कम्पनी सचिव रुद्र बन्जारामाथि बैंककै एक साधारण शेयरधनीलाई धम्की दिएको भिडियो सार्वजनिक भएको छ । बैंकको साधारणसभा तथा निर्वाचन सम्बन्धी सूचना मागेका शेयरधनी अंगराज भारतीलाई कम्पनी सचिव बन्जाराले उल्टै ‘प्रहरी केस गरी हातखुट्टा भाँचिदिन्छु’ भन्दै धम्की दिएको आरोप भारतीले लगाएका छन्।
जुम्लाका शेयरधनी भारती बैंकको आगामी वार्षिक साधारणसभामा शेयरधनीको तर्फबाट उम्मेदवारी दिने तयारीमा रहेका बेला कम्पनी सचिवबाट धम्की आएको उनको दाबी छ । उनले घटनालाई सामान्य विवाद नभई बैंकको संवेदनशील जिम्मेवारीमा रहेका पदाधिकारीबाट भएको गम्भीर व्यवहार भन्दै बैंकका अध्यक्षसमक्ष लिखित उजुरीसमेत दिएका छन्।
भारतीका अनुसार उनले बैंकको वार्षिक साधारणसभा तथा निर्वाचनसम्बन्धी केही जिज्ञासा राख्न कम्पनी सचिव बन्जाराको मोबाइल नम्बरमा फोन गरेका थिए । उनका अनुसार भदौ २२ गते साँझ करिब ७ः१० बजे २ मिनेट ३० सेकेन्ड, ७ः१४ बजे २० सेकेन्ड र त्यसै समयमा थप ३२ सेकेन्ड कुराकानी भएको थियो । उनको दाबीअनुसार सोही कुराकानीका क्रममा कम्पनी सचिव बन्जाराले आफूलाई प्रहरीमा उजुरी गरी ‘हातखुट्टा भाँचिदिने’ धम्की दिएका थिए । भारतीले उक्त कुराकानीको आवाज रेकर्ड आफूले प्रमाणका रूपमा सुरक्षित राखेको दाबी गरेका छन्।
भारतीले बैंक अध्यक्षलाई दिएको निवेदनमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । साथै, आवश्यक परे नेपाल टेलिकमबाट सम्बन्धित फोन कलको विवरणसमेत झिकाएर घटनाको सत्यतथ्य पत्ता लगाउन सकिने उनको भनाइ छ।

उनले कम्पनी सचिवजस्तो बैंकको महत्वपूर्ण र संवेदनशील जिम्मेवारीमा रहेको व्यक्तिबाटै शेयरधनीलाई धम्की दिइएको दाबीले संस्थागत सुशासनमाथि गम्भीर प्रश्न उठाएको बताएका छन् । घटनाको छानबिन गरी कारबाहीको जानकारी आफूलाई समेत उपलब्ध गराउन उनले माग गरेका छन्।
भारतीले बैंकका अध्यक्षलाई दिएको निवेदनको बोधार्थ नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, सांसद ज्ञानेन्द्र शाही, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त, काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा नेपाल बैंकर्स संघका अध्यक्षलाई समेत दिएका छन्।
बैंकको साधारणसभा र निर्वाचनको तयारीका क्रममा एक शेयरधनीले कम्पनी सचिवमाथि नै यस्तो गम्भीर आरोप लगाएपछि सानिमा बैंकको संस्थागत सुशासन, शेयरधनीसँगको व्यवहार र सूचना उपलब्ध गराउने प्रक्रियामाथि प्रश्न उठेको छ।