मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डमा तीन दिनमै मागभन्दा बढी आवेदन

मंगलबार, असोज १३ २०८३

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’ को इकाई खरिदका लागि निष्कासन गरिएको रकमभन्दा बढी आवेदन परेको छ । फण्डको इकाई निष्कासन खुलेको तीन कार्य दिनमै मागभन्दा बढी आवेदन परेको हो ।

एनआईसी एशिया क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म फण्डको ८० करोड रुपैयाँ बराबरको इकाईभन्दा बढी रकमको आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार ८० करोड रुपैयाँबाट बढाएर अधिकतम एक अर्ब रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था रहेको छ ।

फण्डले प्रतिइकाई १० रुपैयाँका दरले कुल ८ करोड इकाई निष्कासन गरेको थियो । त्यसमध्ये न्यूनतम १ करोड २० लाख इकाई अर्थात् कुल बिक्री हुने इकाईको न्यूनतम १५ प्रतिशत कोष प्रवद्र्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित राखिएको छ । बाँकी ट करोड ८० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि निष्कासन गरिएको हो ।

इकाई खरिदका लागि आवेदन दिने अवधि असोज ७ देखि असोज १३ गतेसम्म तोकिए पनि मागभन्दा बढी आवेदन परिसकेकाले असोज १३ गते बुधबार बैंकिङ समयपछि आवेदन बन्द गरिने क्यापिटलले जनाएको छ । यद्यपि, योजनाको आकार एक अर्ब रुपैयाँसम्म बढाउन सकिने भएकाले असोज १३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । १० वर्ष अवधिको यो छैटौँ बन्दमुखी योजना हो । योजनामार्फत संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीमा लगानी गरिनेछ । राम्रो प्रतिफल दिन सक्ने तथा उच्च वृद्धि सम्भावना भएका कम्पनीको अध्ययन र अनुसन्धान गरी लगानी गर्ने योजना व्यवस्थापकले जनाएको छ ।

योजनामा न्यूनतम एक सय रुपैंयाँ इकाईदेखि अधिकतम एक करोड इकाईसम्म खरिदका लागि आवेदन दिन सकिनेछ । इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय वा ‘मेरो शेयर’ मार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

योजनामा नेपाली नागरिक, गैरआवासीय नेपालीको परिचयपत्र प्राप्त व्यक्ति, प्रचलित कानुनअनुसार दर्ता भएका नेपाली फर्म तथा संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत सञ्चय कोष, कल्याणकारी कोष, गुठी तथा अक्षय कोषजस्ता विभिन्न कोषले समेत इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।