मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

चार वर्षका लागि इसेवाको सीईओ बने निरज शर्मा

सोमबार, असोज १२ २०८३

काठमाडौं । इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज शर्मा बनेका छन् । इसेवा सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी सीईओ बनाउने निर्णय गरेको हो । शर्माले सोमबारदेखि आगामी चार वर्षका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा लामो नेतृत्वदायी अनुभव भएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण र रिटेल बैंकिङका क्षेत्रमा अनुभवी मानिन्छन् । डिजिटल नवप्रवर्तन, रणनीतिक व्यवसायिक वृद्धि तथा ग्राहककेन्द्रित सेवा विकासमा समेत उनले लामो समयदेखि काम गर्दै आएका छन् ।

टोली नेतृत्व तथा संस्थागत रूपान्तरणलाई प्रभावकारी रूपमा अघि बढाएको अनुभव रहेका शर्माले डिजिटल वित्तीय सेवाको क्षेत्रमा हासिल गरेको विज्ञताका आधारमा इसेवाको आगामी रणनीतिक योजनालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीको अपेक्षा छ ।

बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवाको विस्तारलाई ध्यानमा राख्दै कम्पनीले विगतमा हासिल गरेका उपलब्धिलाई निरन्तरता दिने तथा सेवालाई थप सुदृढ बनाउने क्रममा शर्माको नेतृत्व महत्वपूर्ण हुने इसेवा सञ्चालक समितिले जनाएको छ ।

निवर्तमान सीईओ जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ । खड्का २०७९ असोज १२ गते इसेवाको सीईओ पदमा नियुक्त भएका थिए ।

उनको व्यवस्थापकीय नेतृत्वमा इसेवाले सेवा विस्तार, पहुँच वृद्धि तथा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाएको कम्पनीले जनाएको छ । खड्काको कार्यकालमा इसेवाका प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिको संख्या उल्लेख्य रूपमा बढेको थियो । साथै, विभिन्न नयाँ उत्पादन, सुविधा तथा डिजिटल सेवाहरू विस्तार गरिएका थिए।

उनको कार्यकालमा इसेवामा दर्ता भएका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख तथा मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको कम्पनीले जनाएको छ।

खड्काको नेतृत्वमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा, इन्सुरेन्स प्रडक्टलगायत विभिन्न सेवा तथा सुविधाको विस्तार भएको थियो । यी पहलमार्फत डिजिटल भुक्तानी तथा वित्तीय व्यवस्थापनलाई थप सहज र विविध बनाउने प्रयास गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, दृष्टिविहीन नागरिकका लागि ‘टक ब्याक’ फिचर तथा सर्वसाधारणको सहजताका लागि नेपाली भाषामा एप सञ्चालनमा ल्याइएको थियो । यी सेवामार्फत डिजिटल वित्तीय पहुँचलाई थप समावेशी बनाउने काम भएको कम्पनीको भनाइ छ।

खड्काले सीईओका रूपमा कम्पनीको व्यावसायिक विस्तार, डिजिटल वित्तीय सेवाको विकास, समावेशी वित्तीय पहुँच तथा ग्राहककेन्द्रित नवप्रवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको इसेवाले जनाएको छ।

उनको कार्यकालमा इसेवाले आफ्नो ब्रान्ड प्रमिस ‘सबैसधैँसँगै’ लाई केन्द्रमा राख्दै डिजिटल सेवाको पहुँच विस्तार, नयाँ उत्पादन तथा सेवाको विकास र प्रयोगकर्तामैत्री डिजिटल वित्तीय अनुभव निर्माणमा निरन्तर काम गरेको कम्पनीले जनाएको छ ।